अल्डरसट । बेलायत भ्रमणमा रहेका नायक तथा निर्देशक प्रितम गुरुङसँग विशेष अन्तरक्रिया तथा बिदाइ कार्यक्रम हुने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आगामी जुलाई २७ आइतबारका दिन बेलायतस्थित नेपाली समुदायसँग गुरुङले ‘यात्रानुभव’ साट्ने भएका हुन् । कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ।
सो क्रममा गुरुङले पहिलो फिल्म ‘पाते’देखि ५०औँ फिल्म ‘मुख्या’सम्मका अनुभव साट्नेछन् । आफ्नो आरोह अवरोहबारे अनुभव सुनाउनेछन् । जिज्ञासाको उत्तर दिनेछन् । गुरुङले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् ।
‘विदेश जाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो…’ जस्ता लोकप्रिय गीत समेटिएको पहिलो गुरुङ फिल्म पाते बाट यात्रा सुरु गरेका गुरुङको करिब ३० वर्ष लामो चलचित्र यात्रा आरोह अवरोहले भरिएको छ ।
उनले अभिनय तथा निर्देशन गरेका चर्चित फिल्महरू ‘जुनतारा रहेसम्म’, ‘मर्स्याङ्दी बगेसम्म माया तिमीलाई,’ जस्ता दर्जनौँ चलचित्रले गुरुङभाषी दर्शकको मन जितेका छन् । ‘कैयौँ पटक लडेँ, उठेँ, रोएँ, खाल्डोमा खसेँ, तर म चंगा बनिरहेँ—जति लट्ठा तान्यो, त्यति आकासिएँ,’ उनले भनेका छन् ।
सो अवसरमा विभिन्न कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रमलाई चलचित्र उद्योगमा गुरुङको योगदानको उच्च कदर गर्दै उत्सव मनाउने अवसरका रूपमा पनि लिइएको समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङले जनाएका छन् ।