अल्डरसट । नेपाली संगीत र सांस्कृतिक चेतनालाई विश्वसामु चिनाउने लक्ष्यसहित बेलायतमा ‘लाउड आउट २०२५’ हुने भएको छ ।
आगामी ३० अगस्टमा अल्डरसटस्थित रश्मोर एरिनामा कार्यक्रम हुने भएको हो । डेब्रे इभेन्ट्सको आयोजनामा हुने कार्यक्रम नेपाली समुदायमा सबैभन्दा ठूलो खुल्ला संगीत समारोहका रूपमा परिचित छ ।
कार्यक्रम दिउँसो १ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । हिमाली लोकधुन, आधुनिक र पप, हिपहप र नयाँ पुस्ताको संगीत समेटिने छ ।
यस पटकको लाउड आउटमा पनि नेपालका ख्यातिप्राप्त कलाकारको उपस्थिति रहनेछ । ‘सिन्डिकेट’, ‘असार’ जस्ता लोकप्रिय गीतमार्फत दर्शकको मन जितिसकेका गायक विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्ड, ‘कोमल त्यो तिम्रो’ र ‘म संसार जित्ने’ जस्ता कालजयी हिटका गायक सविन राई एन्ड द फ्यारो, परम्परा, नयाँ पुस्ताका प्रिय गायक याबेस थापा र यथार्थपरक हिपहपमार्फत चिनिँदै आएका जेम्सी मुख्य आकर्षणका रूपमा रहनेछन् ।
पूर्वमिस नेपाल, सञ्चारकर्मी एवं समाजसेवी माल्भिका सुब्बा र चर्चित सञ्चारकर्मी तथा संगीतकर्मी युभेन ब्ल्याकले कार्यक्रम सञ्चालन गर्नेछन् । प्रतिभाशाली डिजे स्काजीले संगीतको माहौल तताउनेछन् ।
नेपाली खाना र हस्तकलाको झल्को दिने बजार पनि कार्यक्रमको अर्को आकर्षण हुनेछ । यस संस्थाले बेलायतमा नेपाली संस्कृति र संगीतलाई प्रवर्द्धन गर्न लामो समयदेखि काम गर्दै आएको छ ।
यस पटकको संस्करण पनि नेपाली डायस्पोरालाई एकतामा बाँध्ने, सिर्जनशीलता उजागर गर्ने र सांस्कृतिक गौरव अनुभव गराउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।