काठमाडौँ । गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र ‘मुख्या’ को काठमाडौँमा भव्य प्रिमियर गरिएको छ । प्रमियर सफल भएको भन्दै निर्देशक प्रितम गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘रोधी’ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको निर्देशक गुरुङले बताए । यस चलचित्रको प्रिमियर बेलायमा पनि गर्ने तयारी गरिएको छ । आगामी ११ जुलाईमा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा र १३ जुलाईमा तमु प्लेल्हु संघ रेडिङमा ग्रान्ड प्रिमियर हुनेछ ।
जसका लागि निर्देशक गुरुङ आगामी ३ जुलाईमा बेलायत आउने कार्यक्रम तय भएको छ । बेलायतमा चलचित्रकर्मी ओमेन्द्र गुरुङको पहलमा चलचित्रको प्रदर्शन हुन लागेको हो । गुरुङ समुदायको संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले तयार गरिएको चलचित्र हेरेर साथ र समर्थन गर्न दर्शकलाई अपिलसमेत गरिएको छ ।
चलचित्रमा तीन पुस्ता (बाजे, छोरा र नाति) को कथालाई समेटिएको छ । यसैगरी बेलायतबाट नेपाल जाने, गुरुङ संस्कार संस्कृति मनाउँदा आउने असमझदारीको पनि कथा यसमा रहेको छ ।
चलचित्रमा टिकाराम घले, विष्णु गुरुङ , रिया गुरुङ , सबिना गुरुङ , रेसम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ, प्रिया गुरुङलगायत कलाकारको अभिनय रहको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीत, दीपक गुरुङ र पवित्र गुरुङको स्वर रहेको छ ।
यस्तै, खेम थापा मगरको छायांकन, सन्तोषी गुरुङको कोरियोग्राफी, इना गुरुङको मेकअप, मेक थापाको सम्पादन रहेको छ ।
बेलायतस्थित नेपाली समुदाय विशेषतः गुरुङ समुदायका लागि तयार पारिएको यो सांस्कृतिक फिल्मले विदेशमा रहँदा पनि आफ्ना जरा र संस्कृति सम्झाउने अपेक्षा गरिएको छ।
चलचित्रको मिडिया पार्टनरका रूपमा गोर्खा मिडिया पनि रहेको छ ।