काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नुभएको छ । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने हुनुहुन्छ । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुनुहुन्छ । यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी हुनुहुन्छ । उहाँहरुको जिम्मेवारी तोकिएको छैन ।