काठमाडौँ । गायिका मिना लामा ‘म्युजिक खबर युवा प्रतिभा संगीत सम्मान २०८१’ बाट सम्मानित भएकी छन् ।
म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा लामालाई उक्त सम्मान प्रदान गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त अवार्ड हस्तान्तरण गरे ।
धादिङमा जन्मिएकी लामाले सयौँ लोक तथा आधुनिक गीतमा स्वर तथा संगीत भरिसकेकी छन् । लाइभ दोहोरीमा समेत अब्बल लामाका झम्के साँझैमा, आँसु पैँचो, प्रवेश निषेध, झरनाको पानी, बाँचुन्जेललगायत आधुनिक, लोक र सेलो गीत रहेका छन् ।
सम्मानित भएपछि गायिका लामाले आफूलाई गौरवान्वित भएको बताएकी छन् । ‘नेपालकै प्रतिष्ठित अवार्डमध्येको एक म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा ‘म्युजिक खबर युवा प्रतिभा संगीत सम्मान २०८१’ बाट सम्मानित हुन पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेकी छु,’ फेसबुकमा लामाले लेखेकी छन् ।
म्युजिक अवार्ड कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिएको छ । खरेलका ‘गैरी खेतको शिरै हान्यो’, ‘चैतमास खडेरीमा डढेलोले बनै खायो’, ‘यस्तो पनि हुँदो रैछ’, ‘नौसय खोला तरेर जाने’, ‘उडुँ कि गुडुँ म’लगायत गीत कालजयी छन् । उनले नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, लोभीपापी, आदिकवि भानुभक्तलगायत चलचित्र निर्माण तथा निर्देशन गरेका छन् । उनी चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुन् । गीतकार खरेललाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो ।
यस वर्षको म्युजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तिलकसिंह पेलाले पाएका छन् । हालसम्म उनको संगीत तथा स्वरमा दर्जनौँ गीत रेकर्ड भएका छन् । लामो समयदेखि श्रीकृष्ण गुरुकुलमार्फत संगीत प्रशिक्षण गर्दै आएका पेलालाई ‘म्युजिक खबर रजत सम्मान –२०८१’ अर्पण गरिएको हो । ‘लुकाउन खोज्दा पनि’, ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’लगायत गीत तथा गजलमा उनको स्वर सुन्न सकिन्छ ।
त्यस्तै यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिएको छ । म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिएको छ ।
बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई अर्पण गरिएको छ । म्युजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा. रमिल अधिकारीलाई प्रदान गरिएको छ । गीतकार अधिकारी न्युजिल्यान्डमा कार्यरत छन् ।
म्युजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ प्रदिपराज वन्तलाई, विमल शाहलाई म्युजिक खबर संगीत व्यवसायी सम्मान दिइएको छ ।