लन्डन । चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।
शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत गर्यो ।
कलाकारको स्वागतका लागि विकास देवकोटा, सुनिलबाबु खड्का, रोमियन लिम्बु, प्रशान्त खड्कालगायत हिथ्रो एयरपोर्ट पुगेका थिए । कलाकारहरुले शनिबार ग्रीनफोर्ड टाउन हलमा हुने समारोहमा आएर आफूहरुलाई हौसला दिन अनुरोध गरेका छन् । यसअघि नायिकाद्वय विपना थापा र निती शाह एवं धिरेन शाक्य लन्डन आइसकेका छन् ।
बेलायतमै रहेका सेलिब्रेटी समेत उक्त कार्यक्रममा सहभागी हुने छन् । समापन समारोह नेपाली सिनेमा, भाषा र सांस्कृतिक विविधताको उत्सव हुने अपेक्षा गरिएको छ । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले विशेष प्रस्तुति दिनेछन् भने सम्मान पनि गर्ने तयारी छ ।
विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको थर्ड आइले जनाएको छ ।