काठमाडौँ । गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको फिल्म ‘पुर्खाको थलो’ १ जुनका दिन बेलायत र हङकङमा सार्वजनिक गरिने भएको छ ।
फिल्मका निर्देशक ओमप्रकाश गुरुङका अनुसार १ जुनमा बेलायतको अल्डरसटस्थित डि लन्ज रेस्टुरेन्ट र हङकङको याउ मा ताइ हलमा प्रिमियर हुने भएको हो । यस्तै, ६ जुलाईमा जापानको योकोहमास्थित याको कम्युनिटी सेन्टरमा प्रिमियर हुने उनले बताए ।
नेपालमा भने पहिलो पटक जेठ ३ गते शनिबार पोखरास्थित श्रीकृष्ण चलचित्र मन्दिरमा प्रिमियर हुने निर्माण पक्षले जनाएको छ । यो फिल्म कास्कीको भाचोक गाउँमा छायांकन गरिएको हो ।
ओमप्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको फिल्म मुनाल फिल्म प्रालि पोखरामा ब्यानरमा निर्माण भएको हो । यो फिल्म मुनाल फिल्मको ब्यानरमा निर्माण भएको आठौँ फिल्म हो ।
देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेको र त्यसको भावनात्मक प्रभाव साथै आफ्नो पहिचानप्रतिको सम्झनालाई समेटेर यो फिल्म निर्माण गरिएको छ । निर्मात्री कुविना गुरुङले फिल्मले पुर्खा–प्रेम र थातथलोप्रतिको माया र आत्मीय सम्बन्धलाई उजागर गर्न खोजिएको बताए ।
फिल्मलाई कुविनासँगै बेलायत निवासी दिल घले र उत्तरबहादुर गुरुङ साथै खिमकुमारी गुरुङ र जोगमाया गुरुङले निर्माण गरेका हुन् । पिटर गुरुङले छायांकन गरेको यो फिल्ममा गणेशमान घले, लक्ष्मी गुरुङ, ओमप्रकाश गुरुङको मुख्य भूमिका रहेको छ ।
यस्तै, डीबी गुरुङ, लालशोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तरबहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिम कुमारी गुरुङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरुङ, जोया गुरुङ, सुनदेवी गुरुङलगायत कलाकारको समेत अभिनय रहेको छ ।