अन्जना तामाङ
पोखरा ।
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको गत भदौ ४ मा सम्पन्न दोस्रो अधिवेशनवाट निर्वाचित कार्यसमितिको पदस्थापना तथा निवर्तमान कार्यसमितिलाई कृतज्ञताका साथ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १४, रातोडाँडास्थित घेदुङको आफ्नै भवनमा सम्पन्न उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ब्लोन तामाङ ‘शिवु’ को अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यतामा नेपाल तामाङ घेदुङ संघिय समितिका उपाध्यक्ष दिपक वाइवाको रहेको थियो ।
कार्यक्रममा नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिका अध्यक्ष पवित्रा थोकर तामाङले कार्यक्रम महत्वपूर्ण रहेको भन्दै भावी दिनहरूमा नेपाल तामाङ घेदुङका भावी संगठनहरुले पनि नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले चालेका कदमहरू पछ्याउनु पर्ने बताइन् । त्यस्तै नेपाल तामाङ घेदुङ, पोखरा महानगर समितिका निर्वतमान अध्यक्ष तथा संस्थाका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो तामाङले घेदुङले गरेका गतिविधिहरुको उच्च सम्मान गर्दै आगामी दिनहरुमा सम्पूर्ण तामाङ जातिले मात्र नभई सम्पूर्ण नेपालीहरुले नै बौद्ध धर्म अनुशरण गर्न सके असल नागरिक बन्ने र देशमा शान्ति, समृद्धि छाउने विचार राखे ।
एउटा तामाङ जातिले तामाङको हकहित र पहिचानको निम्ति अघि बढ्दै गर्दा आफूलाई तामाङ संघसंस्थामा मात्र सिमित नराखी विभिन्न संघसंस्थाहरुमा पनि आफूलाई आवद्ध गराई आफ्नो क्षमता र पहिचान स्थापित गराउन नेपाल तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा सामुदायिक सेवा केन्द्र बगरका कोषाध्यक्ष कृष्णबहादुर तिलुङले सम्पूर्ण कस्केली प्रति अनुरोध सहितको शुभकामना मन्तब्य राखे ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङले नेपाल तामाङ घेदुङ, पोखरा महानगर समितिले यो संस्थाको एक ऐतिहासिक कार्य हुनुको साथै पदस्थापनाले हरेक पदाधिकारीलाई जिम्मेवार सदस्यको रूपमा नियुक्त गराएको र निर्वमान पदाधिकारीहरुलाई सम्मानले अग्रज प्रतिको असिम श्रद्धालाई प्रतिक गरेको बताइन् । नेपाल तामाङ घेदुङ संघिय समितिका निवर्तमान सदस्य हरीमान थिङ तामाङले संस्थाले गरेको कार्यक्रमप्रति आभार प्रकट गर्दै स्थापना काल देखि नै तामाङको हितमा लड्दै आएको र आगामी दिनहरूमा पनि जुनसुकै समयमा घेदुङलाई सहयोग गर्न तयार हुने प्रतिवद्धता सहितको शुभकामना व्यक्त गरे ।
शुभकामना मन्तब्य कै क्रममा नेपाल तामाङ घेदुङ संघिय समितिका सदस्य एवं कास्की इञ्जार्ज सुन्दर थोकर तामाङले कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रमा भइरहेको विविध कार्यक्रमको बारेमा बताए । यसै क्रममा आउँदै गरेको सोनाम ल्होछारमा संघिय दिन निर्माणका लागि चरणवद्ध र योजनावद्ध रूपमा जिल्ला–जिल्लामा सांस्कृतिक कार्यक्रम गर्ने योजना भएकाले यसका निम्ति सहयोगको अपिल गरे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाइवा तामाङले जनसंख्याको हिसावले ५.८%. ओगटेको तामाङहरु राज्यको कुनै पनि स्थानमा समानुपातिक रूपमा आबद्ध हुन नसकेकोमा दुःख व्यक्त गर्दै अबका दिनहरुमा तामाङ जातिले साँच्चिकै पहिचान स्थापित गर्न चाहने हो भने हरेक तामाङले सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, साँस्कृतिक, धार्मिक रूपमा सक्षम हुनु पर्ने र राजनितीमा सरिक हुँदै अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका सचिव अन्जना डुम्जन तामाङले सन्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार थिङ तामाङले स्वागत मन्तव्य राखेका थिए ।