पोखरा । भकारी इभेन्ट्सको ब्यानरमा निर्माण भएको नेपाली भाषाको गुरुङ चलचित्र ढ्यांग्रो चैत्र १६ गते प्रदर्शन हुने भएको छ। पोखराको श्रीकृष्ण चलचित्र हलमा पुनः प्रदर्शन हुन लागेको हो।
यसअघि फागुन १७ गते पोखरा कै मिद्टाउन ग्यालेरियामा दुई सो प्रदर्शन गरिएको चलचित्र २३ फेब्रुअरीमा हङकङमा प्रदर्शन भएको थियो । पोखरा र हङकङमा दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाएको ढ्यांग्रो कृष्ण कुमार गुरुङले निर्देशन गरेका हुन्। कोल्मा बहकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङसमेत निर्माता रहेको चलचित्र छिट्टै यूके, दुबई, कतार, बेल्जियम, पोर्चुगललगायत देशमा पनि प्रदर्शनको तयारी भइरहेको निर्देशक गुरुङले जानकारी दिए।
भोजराज लिम्बु, ओम गुरुङ, पूर्ण गुरुङ र हरिमाया गुरुङकोसमेत चलचित्रमा लगानी छ । निकोलस गुरुङले खिचेको चलचित्र नेत्र गुरुङले सम्पादन, ध्वनि संयोजन बुद्धराज गुबाज, संगीत संयोजन धनबहदुर गुरुङ र तेजेन्द्र गुरुङले गरेका छन्। सोम गुरुङ मुख्य सहायक निर्देशक रहेको ढ्यांग्रोमा विश्वात्मा गुरुङ, ओम गुरुङ, सपना गुरुङ (साना), सुनिता गुरुङ, केदार बोहोरा, राजेन्द्र थापा र क्या. चोकबहदुर गुरुङको अभिनय रहेको छ ।
कास्कीको रमणीय भलाम डाडागाउँमा छायांकन गरिएको चलचित्रमा गुरुङ समुदायको सामाजिक कथालाई स्पष्ट पारिएको छ । मामाचेला फुपूचेलाको सम्बन्ध ढ्यांग्रोको सामुदायिक प्रयोग जस्ता सामाजिक रूपान्तरणका विषय समेटिएको छ । यस चलचित्रले अत्यधिक दर्शकलाई मनोरञ्जनसहित सांस्कृतिक सम्पदा पनि बुझाएको छ । चलचित्र दुई घण्टा १५ मिनेटको रहेको छ।