पोखरा । पोखरा महानगरपालिका वडा नंं. १० रामघाट, बौद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ (गोपाल) गुम्बामा जारी कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजा शुक्रवारबाट शुरु भएको छ ।
तो ल्हो (बाघ वर्ग) विदाई र हि ल्हो (बिरालो वर्ग) को आगमनको अवसरमा गुम्बाद्धारा विश्वमा शान्तिको कामना, विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारसहितको उद्धेश्यसहित आयोजित २२ औं कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजाको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शान्तिका लागि असल भावना, सत्कर्म, अमृत वचन आवश्यक रहेको बताइन् । शान्तिबाटै आनन्दमय जीवन प्राप्त हुने बताइन् ।
दश दिने कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेकाले महानगरले माध्यमिक शिक्षासम्म पठनपाठनका लागि समन्वय गर्ने बताइन् ।
उद्घाटन कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सु.सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मिन गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए । गुम्बाका प्रमुख लामा गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु.यामबहादुर गुरुङले स्वागत र लामा फुर्वाले कार्यक्रम संचालन गरेका थिए ।
उद्घाटन समारोह पश्चात पल टासी छ्योएलिङ गोपाल गुम्बामा कङ्ग्युर पाठ र पुजा शुरु गरिएको छ । पल टासी छ्योएलिङ गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङको अगुवाईमा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समूह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों र्हिचमी (चेलीबेटी) हरु लगायत विभिन्न जिल्लाबाट बौद्ध उपासक उपासिकाहरुको बृहत सहभागीता रहने गरेको छ ।