पोखरा । ६ गोर्खा राईफल्स् रेजिमेन्टल एसोसिएसन नेपालको वार्षिक साधारणसभा पोखरास्थित एसआरकेसी बनक्युइट माटेपानीमा सम्पन्न भएको छ । २२ मार्चमा भएको सभाबाट ले. रि. पुर्णबहादुर गुरुङ सर्वसम्मत रूपमा चेयरमेनमा चयन भएका छन् ।
यसअघि संस्थाको भाइसचेयरमेन रहेर उल्लेखनीय काम गरेका गुरुङ गत फेब्रुअरीमा कर्नल कमान्डेन्टस् मेडलबाट सम्मानित भएका थिए ।

सिनियर अफिसर तथा सल्लाहकारहरु मे. गोपालबहादुर गुरुङ एमबीई, मे. ज्ञानबहादुर गुरुङ, मे. बालकृष्ण गुरुङ एमभीओ एमबीई, क्या. भुवनसिङ गुरुङ र निवर्तमान चेयरमेन मे. चन्द्रबहादुर गुरुङ एमभीओको सल्लाहमा नयाँ कमिटीको चयन भएको हो । कमिटीको भाइसचेयरमेन कलरसार्जेन्ट जयबहादुर गुरुङ, सचिव कलरसार्जेन्ट चित्रबहादुर गुरुङ, सहसचिव सर्जेन्ट मोतिप्रसाद गुरुङ, कोषाध्यक्ष सार्जेन्ट लछुमान गुरुङ, सहकोषाध्यक्षमा बलराम गुरुङ र पाँच जना सदस्य चयन भए ।
एसोसिएसनका चेयरमेन मे. रि. चन्द्रबहादुर गुरुङ एमभीओको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रम दुई भागमा भिन्नाभिन्नै ठाउँमा भएको थियो । ६ गोर्खाका सदस्यहरू बुटवल, चितवन, काठमाडौँ, तनहुँ, बेलायत र अन्य ठाउँबाट सहभागी भएका थिए । बिहान ८ः३० बजे ब्रिटिस क्याम्प पोखरा नजिकै अवस्थित गोर्खा मेमोरियल म्युजियममा उपस्थित भए । म्युजियमको दोस्रो तलमा हालै ६ गोर्खाको ट्रस्टबाट बनाएको फिल्ड मार्सल स्लिम हलको अवलोकन गरियो । उक्त थीम बनाउनका लागि ६ जीआर ट्रस्टबाट ६ हजार पाउन्ड उपलब्ध भएको ले. गुरुङले बताए ।

ले. गुरुङले स्लिम हलको महत्वबारे सदस्यहरूलाई जानकारी दिएका थिए । विकुलको पहिलो धुनमा पल्टनको झन्डा झारियो र एक मिनेट मौन धारण पछि झन्डा पुनः माथि टाँगियो र सिनियर अफिसर मेजर गोपालबहादुर गुरुङ एमबीईले सबैको तर्फबाट रिथ चढाएपछि पहिलो भागको कार्यक्रम सम्पन्न भयो ।
दोस्रो भागको कार्यक्रमका लागि सबै एसआरकेसी बनक्युइट माटेपानीमा पुगे । सेक्रेटरी कलरसार्जेन्ट जयबहादुर गुरुङले सेफ्टी ब्रिफ गर्दै संक्षिप्तमा कार्यक्रमबारे जानकारी दिए । ब्रिटेन र नेपालको राष्ट्रिय गानबाट मुख्य कार्यक्रमको प्रारम्भ भयो ।
प्रमुख अतिथि मे. गोपाल गुरुङ र चेयरमेन मे. चन्द्र गुरुङले दीप प्रज्वलन गरे । भाइसचेयरमेन ले. पुर्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए । सचिव जय गुरुङले विगत वर्षको गतिविधिबारे चर्चा गरेका थिए । आयब्यय, ६जीररान फन्ड, मेमोरियल मेन्टेनेन्स फन्ड र मेमोरियल फन्ड नेपाल ग्रुपबारे विस्तृत छलफल भएको थियो ।

फिल्ड मार्सल स्लिम हलको अवधारणा ले. पुर्ण गुरुङले ल्याएको र ब्रिगेडियर जोन एन्डरसन ओबीईले ट्रस्टबाट ६ हजार पाउन्ड स्वीकृत गरेकोमा सबैले उनीहरू दुवैको प्रशंसा गरे। अब आउने शरद ऋतुतिर उक्त हलको उद्घाटन गर्ने योजना रहेको बताए ।
पल्टनको विधाननुसार एसोसिएसनको नाममा केही हेरफेर हुने फैसला भयो। भविष्यमा औपचारिक नाम ‘सिक्थ गोर्खा रेजिमेन्टल एसोसिएसन नेपाल’ पारित भयो। पल्टनको सदस्य देहान्त भएमा रेजिमेन्टको झन्डा ओढाउने पनि पारित भयो ।
प्रमुख अतिथि मे. गोपालले नयाँ कमिटीलाई बधाई र वार्षिक साधारणसभामा टाढा टाढाबाट पनि सहभागी जनाएकोमा सबैलाई आभार व्यक्त गरे । चेयरमेन मे. चन्द्रले पनि धन्यवाद व्यक्त गरेका थिए। नवनिर्वाचित चेयरमेन ले. पुर्णले पल्टनको नामका लागि सक्दो काम गर्ने प्रण गरे । जय गुरुङको गीत, भान्जाभान्जीहरुको नाच र खानपिन गर्दै कार्यक्रम सकिएको थियो ।
