राजशान्ती फाउण्डेशनका संस्थापक, सुन्दरबजार नगरपालिका वडा नं. ९ फूलवारी निवासी हाल बेलायतमा कार्यरत राजकुमार सुनार (राजु) ले जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई किचन सामग्री सहयोग गरेका छन् ।
जन्मदिनको अवसरमा केही सामाजिक काम गरौँ भन्ने लक्ष्यका साथ सुनारले बेंसीशहर नगरपालिका ७ हाईस्कुलमा रहेको आश्रमलाई अतिआवश्यक किचन सामग्री सहयोग गरेका हुन् । फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा मानवीय तथा सामाजिक काममा सहयोग गर्दा आफूलाई आत्मसन्तुष्टि मिल्ने भएकाले आश्रममा सहयोग गरेको सुनारले बताए ।
उनले अन्य समयमा पनि राज शान्ति फाउण्डेशनमार्फत विभिन्न सामाजिक काम गर्दै आएका छन् । आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै आफू प्रवासमै रहेपनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारीमार्फत मानवसेवा आश्रमकी संयोजक अनिता अधिकारीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । सुनारले करिव ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका हुन् ।
सुनारको जन्मदिनको अवसरमा उनको धर्मपत्नी शान्ति सुनार, छोरीहरु श्रृष्टी सुनार, सचिता सुनार, छोरा रुपेशराज सुनार र ज्वाई सिमोन रानाको तर्फबाट मानवसेवा आश्रमलाई सहयोग उपलब्ध गराएको हो । खाना पकाउने ठूलो डेक्ची १ थान, ठूलो कराई १ थान, इलेक्ट्रीक जग २ थान, चक्कु २ थान, चिया कप ४० थान, खाजा खाने ठूलो कचौरा ४० थान, मिक्सचर १ थानलगायतका किचनमा आवश्यक सामग्री खरिद गरि आश्रमलाई प्रदान गरिएको हो ।
आश्रमका तर्फबाट संयोजक अनिता अधिकारीले सहयोगी अभिभावक राजकुमार सुनारलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सहयोग प्रति धन्यवाद ज्ञापन गरिन् । सुनारले यो सुरुवात भएकाले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने जनाए ।
उनले आफ्नो स्वर्गिय बुवा पूर्णबहादुर सुनारको प्रेरणाले आफूलाई सामाजिक काममा लाग्न प्रेरित गरेको बताए । अन्य चिज किनेर पाएपनि आफूलाई जन्मदिने बाबाआमा कहिले पनि किनेर नपाइने भएकाले बाबाआमा साक्षत भगवान रहेको बताए । उनले पछि नेपालमै आएर केही गर्ने सोंच रहेको उल्लेख गरे । प्रवासमै रहेर भएपनि उनले राजनीतिक, सामाजिक र सांगितिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएका छन् ।