पोखरा । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ कास्कीको पोखरा महानगरपालिकामा ‘जिफान साँझ’ आयोजना गरिएको छ ।
यही मंसिर २४ गते शनिबार पोखरा सभागृहमा विभिन्न कलाकारहरुको प्रस्तुतिसहित जिफान साँझ सम्पन्न भएको हो । जिफान अध्यक्ष गुन्जबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न संस्थाका अध्यक्षहरुले संयुक्तरुपमा गुरुङहरुको संस्कारअनुसार उद्घाटन गरेका थिए । त्यसपछि कार्यक्रममा जिफान अध्यक्ष गुन्जबहादुर गुरुङले १ लाख रुपैयाँ सहयोग गरेर घरजग्गा खरिद शुभारम्भ गरेका थिए ।
सो साँझमा कलाकारहरु धनबहादुर गुरुङ, रामकुमार (आरके) गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, शरण गुरुङ, केस गुरुङ, राजबहादुर गुरुङलगायतले मीठा मीठा प्रस्तुति पस्केका थिए । 'कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम भयो । गायक/गायिकाले राम्रो प्रस्तुति दिनुभएको थियो । पोखरा र काठमाडौंका कलाकारहरु सहभागी हुनुहुन्थ्यो,' अध्यक्ष गुरुङले गोर्खा मिडियासँग भने ।
कार्यक्रममा सबभन्दा बढी हङकङ निवासी जिफानका सल्लाहकार दुर्गा मिलन घोताने गुरुङले ३ लाख रुपैयाँ सहयोग गरेका थिए । अन्य उपस्थित र अनुपस्थित व्यक्तिहरुले पनि गच्छेअनुसार सहयोग दिएका अध्यक्ष गुरुङले जनाए ।
कार्यक्रममा प्ये ल्हु संघका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु, बौद्ध अर्घौं सदनका अध्यक्ष क्या भुवनसिंह गुरुङ, जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ, सल्लाहकार कृष्णबहादुर गुरुङलगायतले सुझाव र शुभकामना मन्तव्य राखेका थिए । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पनि जिफानबारे बोल्दै घरजग्गा खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष गुन्जबहादुर गुरुङले जिफानको आफ्नै घर नहुँदा अफिस घरी घरी सार्नु पर्दा समस्या भएकोले आफ्नै घर बनाउने विषयमा कमिटी र सरोकारवालासँग सल्लाह गरेर अगाडि बढेको सुनाए । उनले संस्थाको जग्गा किनेर घर बनाउने अभियान सुरु भएकोले पूर्णता दिइ छाड्ने संकल्प राखेका थिए । जिफानले घर तथा जग्गा खरिदका लागि लगभग ५ करोड रुपैयाँ बजेट चाहिने अनुमान गरेको छ ।
कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्य, गुरुङ चलचित्रका कलाकारको आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो । २०६५ सालमा स्थापना भएको जिफानमा हालसम्म १ सय ६० वटा चलचित्र दर्ता भएका छन् । २०५२ सालमा पातें निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठूलो बजारको रुपमा हेरिन्छ । जिफान साँझमा गोर्खा मिडिया, मिडिया पार्टनरको रुपमा रहेको थियो ।