हल्लाहरू बिनाको सहर
कोलाहल बिनाको बस्ती
मैले भोगेको
हिजो र अस्तिभन्दा फरक परिवेश
सुनसान सडक
आवाजविहीन गाडीहरू माझ उभिएर
म, बेहिसाब हल्ला गरिरहेछु ।
नबुझिने एक बथान अक्षरहरू
मेरो आँखा वरिपरि नाचिरहन्छन्
अनभिज्ञ लाखौं आवाजहरू मेरो कान नजिकै
सलबलाउँछन्
अनौठा लाग्छन्, मलाई घुर्ने नयनहरू
अपरिचित लाग्छन् धर्ती र आकाश पनि,
सोध्नु छ अल्लाहलाई
म अनागरिक हुनुको कारण
बुझ्नु छ, बम गोला र बारुदले
मेरो देश उडाइनुको कारण
खोज्नु छ मेरो अम्मि र अब्बुको सपना जल्नुको अर्थ ?
मेरा खेत र खोरियाहरू
मेरा गाउँबेंसी अनि साथीसंगीहरू
जस्तै मेरो देश र नागरिकता पनि
उही छुटेका हुन्
जुन दिन गोली लागेर ढलेका
अम्मि र अब्बुको छाती टेकेर म भागेको थिएँ ।
तातै थियो मेरो अम्मिको छाती
आलै थियो मेरो अब्बुको रगत
उही अम्मिको तातो छातीमा
मेरो भोक छुटेको हो
अब्बुको रातो रगतमा
मेरो परिचय छुट्यो
सिमाना नाघेपछि देश पनि छुट्यो ।
मेरो देशलाई फर्केर हेरें
अब्बुले भाग छोरा, भाग भनिरहेथ्यो
अम्मिलाई हेरें,
आऊ अन्तिमपल्ट मेरो तातो छाती चुसेर जाऊ भनिरहेथ्यो
म उतैतिर दौडिएँ
तर, मलाई कसैले ताने पछिबाट
त्यसपछि, भएको हुँ, म अनागरिक
उही दिनदेखि म, सडकमै छु
यहीं उभिएर
आफ्नो देश खोजिरहेछु ……।
(सिरियाको लडाइँपछि त्यहाँबाट विस्थापित एक बालकले ब्रसेल्सको सडकमा पैसा माग्दै हिंडिरहेको देखेपछि सिर्जना गरिएको कविता)