लन्डन । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्ट्रिय ‘रियालिटी शो’मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ का लागि बेलायतमा आगामी १५ र १६ फेब्रुअरीमा अडिसन हुने भएको छ ।
इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा उक्त रियालिटी शो हुन लागेको हो । अडिसनको विषयमा यही जनवरी १२ तारिख २०२५ मा दिउँसो साढे ३ बजे ठमेल दोहोरी एन्ड ढिँडो घर अल्डरसटमा पत्रकार सम्मेलन आयोजना गरिने बेलायत संयोजिक मनसुधन थापामगरले जानकारी दिएका छन् ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले प्रतियोगिताको अडिसनका लागि विश्वका विभिन्न मुलुकमा स्थलगत अडिसन तय गरिएको यसअघि नै जानकारी दिएका थिए ।
नेपालभित्र र संसारका जुनसुकै ठाउँमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास राख्ने नेपालीभाषी समुदायका लागि रियालिटी शो आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए । ‘रियालिटी शो’का लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, मध्यपूर्वका लागि दुबई, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिक्किम र नेपालमा दमक, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिने उनले बताए ।
भ्वाइसका लागि छनोट भएका एक सय २० र डान्सका लागि एक सय २० गरी दुई सय ४० कलाकारलाई अन्तिम प्रतिस्पर्धीका लागि काठमाडौँ लगिनेछ ।
‘रियालिटी शो’ का विजेतालाई एक करोड, दोस्रो हुनेलाई २५ लाख र तेस्रोलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यी दुई ‘रियालिटी शो’ को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो ।