पोखरा । तनहुँमा जन्मिएका वरिष्ठ लोकगायक कृष्ण थापामगरको एकल सांगीतिक साँझ सम्पन्न भएको छ । नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा कृष्णको एकल साँझ सम्पन्न भएको हो । कार्यक्रममा गायक थापामगरले आफ्ना पुराना तथा नयाँ विभिन्न विधाका १६ वटा गीत प्रस्तुत गरेका थिए । मगर मौलिक वेषभूषामा चट्ट परेर मञ्चमा उत्रिएका कृष्णले 'सुखी माया', 'सारंगीको तार', 'लाहुरे फूली पाते बुलाकी', 'पोखरामा गेट', 'काठमाडौं तीनकुने', 'जुनी जुनीलाई' लगायत लोकगीत, झ्याउरे, दोहोरी, सालैजो कौडाजस्ता गीत पस्किँदा दर्शकले ताली र नाचेर साथ दिए । पूर्वमन्त्री उत्तम पुनमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की, गायक थापाकै गृहजिल्ला तनहुँ, काठमाडौं अनि विभिन्न ठाउँबाट गायक कृष्णको सांगीतिक स्वाद लिन पोखरा सभागृह पुगेका थिए । कृष्णलाई दौतरी र नयाँ पुस्ताका कलाकारहरुले साथ दिए । उनलाई सीतामाया गुरुङ, बबिता गुरुङ, साबित्री गुरुङ, पबित्रा थापा अनि मगर सांस्कृतिक संघ कास्कीमा आबद्ध कलाकारहरुले साथ दिए । कार्यक्रममा कृष्ण थापालाई उत्साह भर्न कास्की, तनहुँ, काठमाडौंलगायत जिल्लाबाट मन्त्री, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर विभिन्न जिम्मेवारीका जनप्रतिनिधिहरु सहभागी थिए । मगर संघ केन्द्र, कास्की, इकाइहरु, तनहुँ लगायत विभिन्न जिल्लाबाट पनि दर्शकहरु ओइरिएका थिए । कार्यक्रममा शान्ति गुरुङ, धम्पु दुरा, पुरुषोत्तम न्यौपाने, शंकर विहरी गुरुङ, रामजी पौडेल, पार्वती बीसी, तुलसा क्षेत्रीलगायत थुप्रै कलाकारहरु पनि उपस्थित थिए । कार्यक्रममा सांस्कृतिक संघका उपाध्यक्ष दिलु फगामी मगरले स्वागत मन्तव्य, कार्यक्रम सञ्चालन बसन्ती थापामगर र जुना थापामगरले गरेका थिए भने कृष्ण थापाको व्यक्तित्वबारे इमान चुमीमगरले जानकारी गराएका थिए । प्रमुख अतिथि पूर्वमन्त्री पुनमगर, मगर संघ कास्कीका कावा अध्यक्ष चन्द्र पुर्जामगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रका उपाध्यक्ष बिलन थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कतिपय बेला भावुकजस्तै देखिएका गायक कृष्णले देश, विदेशमा रहेका सबै दर्शक, आयोजक र प्रायोजकप्रति धन्यवाद र आभार व्यक्त गरे । आयोजक मगर सांस्कृतिक संघ कास्कीकी अध्यक्ष सरिता सारु मगरले कार्यक्रम सफल भएको बताइन् । उनले गायक कृष्ण थापा दम्पती नै अति खुसी देखिएको बताइन् । उनले मगर संघ कास्की, इकाईहरु र भ्रातृ संगठन तथा विभिन्न संघसंस्थाले सहयोग गरेकोमा धन्यवाद दिइन् । कार्यक्रम सफल बनाउन अमेरिका, बेलायत, साउदी अरबलगायत विश्वका विभिन्न मुलुकबाट सहयोग प्राप्त भएको जनाउँदै अध्यक्ष सारुमगरले सबै आयव्यय छिट्टै सार्वजनिक गरिने जनाइन् । कृष्ण थापाको प्रस्तुतिले मन जितेपछि तनहुँको भानु नगरपालिकाले उनको कुनै एउटा गीतको अडियो, भिडियोका लागि आर्थिक व्यवस्थापन गर्ने घोषणासमेत गरेको छ ।