अति व्यस्तताको बाबजुद पनि सकेसम्म संघ संस्थाको निम्तोहरू नछुटाउन त खोज्छु तर काम र कर्तव्यहरूको भंगालोले हुत्याएर कता-कता पुर्याउँछ पत्तै नहुने | समय र पैसा उस्ताउस्तै, फारो गर्दागर्दै सकिजाने |
१६ नोभेम्बर २०२४ शनिबार पनि त्यस्तै भयो | कामबाट भाग्दै आएर, हतार तयार भईवरि जोर्डन पुगेँ । साथमा शोभा दिदी हुनुहुन्थ्यो | अगाडि थाहा थिएन शोभा दिदी पनि जानु हुन्छ भनेर | अचानक फुपूको छोरी सिता बहिनीलाई जाउँ न एक्लै भएँ कान्छी भन्दै बिन्ती बिसाउँदा पो सीताले भनिन् - म त जाँदिनँ दिदी, बरु शोभा दिदी जाने रे साथी खोज्दै हुनुहुन्छ |
यति सुनेपछि त ढुंगा खोज्दा देउता मिलेसरि भै गयो, प्रफुल्लित हुँदै दिदीलाई फोन लगाएँ, दिदीले पनि उठाएर पहिलो नम्बरमै सोध्नु भो, बहिनी साम्याङ्ग्फ़ुङ्ग साँझ नजाने ?
जाने भनेर त कल गरेको दिदी एक्लै भएँ तपाईं जाने हो ? मेरो तर्फबाट पनि सोधनी भैहाल्यो | तयार हुँदैछु बहिनी भन्नु भो, मैले के-के लगाएर जाने हो दिदी, लुगा, गहना ? भनेर सोधें | हामी छोरी मान्छेको आधा जिन्दगी यै लुगा, गहना र शृंगारमा खर्चिन्छ, फेरि थप खर्च गर्न के को आइतबार ?
जम्मै पो लाउँदैछु है म त अब साम्याङ्ग्फ़ुङ्ग मात्र लाउन बाँकी छ, दिदीले भन्नु भो | म छक्क परेँ, अनि दिदी त्यत्रो गहना लगाएर हिंड्न मिल्छ ? कि ! ट्याक्सीमा जाने ? मैले भने |
ए....म त सँधैं हिँड्छु वास्तै पो लाग्दैन, जोर्डन त नजिकै भएकोले ट्याक्सीहरू पनि जान मान्दैनन् | दिदीले भन्नु भो | हाऊ.... मलाई त डर लाग्छ हो दि ! मैले भने | केही हुँदैन हो बहिनी लिम्बुनी भएर पनि डराउने ? यसो पो भन्नु भो | अहो ! साँच्चै म त लिम्बुनी पो त ? ऎनामा हेर्दै आफैलाई ढाडस दिएँ |
दिदीको हिम्मतिलो कुरोले ब्युँतिएको लिम्बुनी मन आफ्नो अघि डाँकै आए पनि काट्छु झैं दरिलो भै उभियो | त्यति भएपछि अरु के चाहियो र मैले पनि लगाएँ, कालो ढाकामा रातो र पहेंलो गुराँसको बुट्टा भएको सारीमा चेप्टे सुन, शिरबन्दी, कण्ठ र चुरा औंठी |
तल ओर्लंदा शोभा दिदी ओर्लनु भएकै थिएन, दिदी र मेरो बिल्डिङ एउटा स्ट्रिटले मात्र छुट्टाएको छ, गाउँघरमा भए कराउँदा पनि सुन्ने तर यहाँ त एउटा गाबिस नै सिङ्गै आँट्ला जस्ता ठूल्ठूला र अग्ला हुन्छन् बिल्डिङहरू | आफ्नै कानको चेप्ट्टे सुन र गलाको कण्ठ छाम्दै उभिरहें | अप्ठ्यारो लागेर हो कि मान्छेले मलाई नै हेरिरहे झैं भान हुन्थ्यो |
परबाट....उज्यालो केही चिज आएझैं देखेर कमजोर आँखामाथि ठडिएको चस्मा मिलाई मिलाई हेर्न थालेँ, साँझको ७.३० भैसकेकोले अँध्यारो थियो, त्यो उज्यालो त शोभा दिदी पो रैछिन् | (मे ना थे आङ्ग नि केसुसेबे आन्ने) ? किना पो ढिलो गर्नु
भो दिदी ? मैले सोधें, (आम्भा हेन्न्हा कोतुंगी कोतुन्ग्नी नाम्बेखेरे....) खोई के खोज्छु खोज्छु त्यसै अल्मलिन्छु, दिदीले भन्नु भो |
शोभा दिदी तेह्रथुमतिरको, म ताप्लेजुङको, विदेसिएका नेपालीले नेपाली भाषा त भूल्न थाल्दै गरेका बेला हामी भने भेट हुँदा प्राय: आफ्नै लिम्बु भाषामा कुरा गर्छौं | लवजमा थोरै फरक छ तेह्रथुम र ताप्लेजुङको तर एकले अर्काको लवज बुझ्ने भैसकेकाले निर्धक्क बोल्छौँ |
उज्यालो नदेखियोस् पनि कसरी साम्याङ्ग्फ़ुङ्ग साँझलाई चाहिए जति सप्पै गहना लगाउनु भएको थियो | सारी पनि उस्तै रातो, सुन रङकै चौबन्दी चोली, सेतोमा रातो र हरियो बुट्टा भएको मजेत्रो, बुनेको रंगिन ऊनीको झोला अहो ! दिदी आज साम्याङ्ग्फ़ुङ्ग साँझमा पूरा गरगहना र लुगाफाटा लाउनेलाई पुरस्कार दिने कार्यक्रम पनि राखेको भए त तपाईंले नै जित्नु हुनेछ लु, अग्रिम शुभकामना मैले भनेँ |
दिदीले हाँस्दै ए...बहिनी त्यस्तो त के थाहा ? सँधैं नै यति त लगाउने गर्छु नि भन्नु भो | दिदी साँचै नै साम्याङ्ग्फ़ुङ्ग साँझलाई सुहाउने लिम्बुनी देखिनु भएको थियो | दिदी पछि पछि म अघि अघि गर्दै १५ मिनट जति हिँडेर जोर्डन याक एन्ड यती रेस्टुरेन्ट पुग्यौं |
साम्याङ्ग्फ़ुङ्ग साँझका कार्यकर्ता दिदी बहिनीहरूले ढोकैमा कोदोको छानुवा जाँड र दूनामा फिलिङ्गेको अचार हात हातमा थमाउँदै न्यानो स्वागत गरे | उक्त ग्रुपमा प्यारी बहिनी मनुता काम्बाङ र भदैनी लिलिस कन्दङ्वा पनि थिए |
हङकङमा बसोबास गर्ने लिम्बु समुदायका दिदीबहिनीहरूले आठ वर्षअघि स्थापना गरेर अहिलेसम्म मनाउँदै आइरहेका "साम्याङ्ग्फ़ूङ्ग साँझ" कार्यक्रम भव्यताका साथ सम्पन्न भैरहेको कुरो त त्यसदिनको भीडले नै
बताइरहेको थियो | कार्यक्रमको अनुभव भन्नु पर्दा यो मेरो पहिलो उपस्थिति थियो, अघिल्लो वर्षको कार्यक्रम, म नेपाल छुट्टीमा गएकीले छुटेको थियो |
हङकङमा यस्ता थुप्रै कार्यक्रमहरू हुने गर्छन् | तर यो साम्याङ्ग्फ़ुङ्ग साँझ जस्तो हुँदैनन् | यहाँ त पक्कै नेपालको
पनि गाउँ घरजस्तो दूना टपरा हुन्छन्, छानेको छानुवा जाँड हुन्छ | कोदोको तीनपाने रक्सी हुन्छ | गुन्द्रुक साँधेको, किनामाको अचार, याङ्ग्बेन र रक्तिमा भूटेको सुँगुरको मासु सबै विशेष खालका खानाहरू हुन्छन् |
एउटै रङका ढाका सारी र फूल लिम्बु गर गहनामा सजिएका कार्यकर्ता दिदीबहिनीहरूको रौनकताले प्रोग्राम अत्यन्तै उल्लासपूर्ण देखिन्छ | मैले यो कार्यक्रम देख्दा बेलायतका स्थापित याक्थुङ माङ्गेना चुम्लुङ याद आयो तर
अहिले थाहा छैन साथीहरूले कसरी संचालन गर्दै छन् ?
सुरु सुरुमा रहर भएर हो कि सारै उत्साहपूर्ण तरिकाले एकदम सभ्य र भव्य तरिकाले संचालन गरेका थियौं |
त्यस संस्थामा बस्दा धेरै साथ सपोर्ट र काम सिक्ने मौका पनि मिल्यो | तर बेलायतका यसरी संस्था संचालन गर्न
भौगोलिक रुपले दु:ख छ | ठूलो देश यहाँ जस्तो काम सकेर प्रोग्राम धाउन सकिँदैन |
हुन त यहाँ पनि नजिक छ भन्दैमा सबैलाई समय दिन सकिँदैन र धाएर साध्य पनि हुँदैन | आफ्नो समय मिलेसम्म र पायक परेसम्मका ठाउँमा जाने हो, नत्र त न कमाएको याङ्गले पुग्छ न समयले | संस्था स्थापना गर्नुको उद्देस्य थाहा नभए पनि यो संस्थाको नामकरण "साम्याङ्ग्फ़ुङ्ग साँझ" मौलिक र अलिक खास लाग्छ | अर्को कुरो यो संस्थामा आबद्ध दिदीबहिनीहरू सबै हङकङमा स्थापित कुनै न कुनै संघ संस्थाहरूमा सक्रिय रुपले पद र जिम्मेवारीहरू सम्हालिरहेकाहरू नै हुनुहुन्छ | यसरी अनुभवीहरूले संचालन गरेका संघ संस्थाहरूको कार्यक्रमहरू सभ्य हुने गर्छन् |
लिम्बु समुदायमा घरमुली नै बज्यै हुन्छन्, जसरी हिमसाम्माङ्ग, (घरको देउता)"युमा" पुजिन्छ त्यसैगरी, घर परिवार ब्यबस्थापनमा पनि बज्यै अग्रणी रुपमा हुन्छिन् | उनैको हातबाट अन्नपानी, खर्चपातको जोहो र ब्यबस्था हुन्छ |
यो संस्थाको अर्को एउटा विशेषता, हरेक वर्ष नेपालबाट कलाकारहरूलाई ल्याएर वार्षिकोत्सव मनाइन्छ, यसरी नेपाली कलाकारलाई थोरै भए पनि यो संस्थाले सहयोग गरेकोले पनि मन पर्छ मलाई |
यो वर्ष चर्चित पालाम गायिका मनु नेम्बाङ र कार्यक्रम प्रस्तोता तथा रेडियोकर्मी मिना नेम्बाङ आउनुभएको थियो | जोर्डनको चर्चित रेस्टुरेन्ट एण्ड बार "याक एन यती" को सानो हल मिना बहिनीको स्वरले थर्कमान थियो | मैले त्यै बेला महसुस गरें हङकङमा हलहरू नेपालका प्रस्तोताहरूको निम्ति बनेका रहेनछन् |
उहाँहरूलाई नेपालका ठुल्ठूला हल र खुल्ला चौरका (ओपन कन्सर्ट) हरूमा जोसले उफ्री-उफ्री कार्यक्रम संचालन गर्ने आदत लागेको हुन्छ, त्यसैले आफ्नो भोल्युम्म कन्ट्रोल गर्न भुली जाँदा रैछन् | विचरा साँगुरो हलमा कान थुन्दै बाहिर कुद्नेहरू पनि देखिन्थे |
निक्कै बेरको गुम्ससाईपछि स्वस्छ हावा खोज्दै म पनि बाहिर निस्किएँ, आम्मा..... हो बाहिर त झन् जोर्डनको कुन्चुंग मार्केट र काउलन पार्क थर्कमान हुनेगरी पालाम घन्काउँदै एक हुल युवायुवतीहरूले धान नाचको गोलो खाला नारेका रहेछन् | एकछिन उभिएर त्यो पुसेमेला र रामदुवालीको झल्को दिने दृश्यसित रमाइरहेँ म |
जन्मजात स्वतन्त्र हामी लिम्बुनीहरूले हाम्रो समुदायप्रति गौरव गर्नु पर्छ | हामी जतै गए पनि इमानसाथ हात समातेर धान नाच्न छुट छ र त हाम्रो संस्कार संस्कृति बाँचेको छ | बाहिर केही छिन रमाउँदै केही थान फोटो खिचेर हामीलाई आफ्ना महँगा क्यामेरामा कैद गरिदिनु हुने फोटो पत्रकार दाजु एचके नेपालका प्रोपाइटर दाजु जगत अम्बु गुरुङ र विजय सुब्बा दाइलाई बिदा मागेर घर फिर्यौं |
ताप्लेजुङ, हाल : हङकङ