लन्डन । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले लन्डन ओटुमा सांगीतिक प्रस्तुति दिने भएको छ । लन्डनमा हुने कार्यक्रमका लागि ब्यान्डका सबै सदस्यले यूकेको भिसा पाइसकेका छन् ।
आयोजक मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्ड टिकट सोल्ड आउट भइसकेको छ । आउँदो ४ जनवरीमा हुने कार्यक्रमका लागि ‘कन्दरा’सँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै छन् । कन्दराले आफ्नो सांगीतिक यात्राको ३२औँ वर्षगाँठका अवसरमा विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ।
विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरूमाझ प्रख्यात गायक स्वप्न सुमनले आफ्नो ब्यान्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् । कार्यक्रममा स्वप्न सुमन र उनको ब्यान्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौ तिमीलगायत गीत प्रस्तुत गर्नेछन् ।
पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चञ्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता गीत प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात् गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौँ शुभचिन्तक र दर्शक रोजाइमा छन् ।
आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनी नेपाली गीत संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइनमार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कन्दराले हालसालै काठमाडौँमा ऐतिहासिक कन्सर्ट गरेको थियो ।