लन्डन । गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) को आयोजनामा ‘जिफाह साँझ-२’ सम्पन्न भएको छ ।
हङकङको याउ मा तेई कम्युनिटी हलमा १७ नोभेम्बरका दिन भव्यताका साथ कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विश्वास गुरुङले सञ्चालन गरेका थिए ।
गण्डकीका प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री एवं जिफानका पूर्वअध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
विशेष अतिथिमा गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’, गुरुङ फिल्म एसोसिएसन हङकङका संस्थापक अध्यक्ष एवं सल्लाहकार रोसन गुरुङ, गुरुङ फिल्म एसोसिएसन हङकङका प्रमुख सल्लाहकार, दीलिपसिङ गुरुङ, तमु ट्हो ह्यूल हङकङका अध्यक्ष ईश्वर गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष एवं जिफाहका सल्लाहकार मनबहादर गुरुङ, तमु समाज हङकङका अध्यक्ष नरेन्द्रराज गुरुङ ‘आरेन्द्र’, प्रदेश नं. १ तमु समाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङ, चलचित्रकर्मी नवीन सुब्बा रहेका थिए ।
यसैगरी, मुख्य प्रायोजक तथा जिफाहका सल्लाहकार एवं समाजसेवी राम गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष तथा जिफान सल्लाहकार रिता गुरुङ, चलचित्र निर्माता सिनियर मास्टर गणेश गुरुङ, जिफाहका सल्लाहकार एवं चलचित्र निर्माता इन्द्रकाजी गुरुङलगायत हङकङमा स्थापित ७० भन्दा माथि नेपाली तथा गुरुङ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि विशेष अतिथिमा रहेका थिए |
दोस्रो भागको सांस्कृतिक कार्यक्रम जिफाहका संस्थापक उपाध्यक्ष सुवास गुरुङले सञ्चालन गरेका थिए । सो अवसरमा परदेशमा रहेर पनि गुरुङ समुदायको भाषा, भेषभुषा तथा कला-संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्न गुरुङ चलचित्रको माध्यमबाट दिएको विशिष्ट योगदानको उच्च कदर गर्दै जिफाहका संस्थापक अध्यक्ष तथा कलाकार रोशन गुरुङलाई फेटा लगाई अभिनन्दन-पत्रद्वारा सम्मान गरिएको थियो।
जिफाहका संस्थापक उपाध्यक्ष, लेखक, निर्देशक तथा कलाकार गणेश गुरुङ ‘सुवास’ र गुरुङ चलचित्र निर्माता एवं वरिष्ठ समाजसेवी राम गुरुङलाई फेटा र सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो ।
सांस्कृतिक संयोजक गमन घले रहेको कार्यक्रमलाई भव्य बनाउन नेपालबाट कोरियोग्राफर साजन गुरुङ, गायिका उषा गुरुङ, नायक मनोज गुरुङ, आनन्द गुरुङ नायिका अनुसा गुरुङ, अन्जु गुरुङ, अमेरिकाबाट नायिका तथा निर्माता एन्सर्ज गुरुङ, अस्ट्रेलियाबाट नायक विश्वात्मा गुरुङलाई आमन्त्रण गरिएको थियो ।
हङकङबाट गायक मनोज गुरुङ, नायकहरू रोशन गुरुङ, गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, नायिका तथा कलाकार सुनिता गुरुङ, मुस्कान गुरुङ,प्रिया गुरुङ, सिर्जना गुरुङ(A), सिर्जना गुरुङ(B) र संगीता गुरुङ साथमा प्रमुख अतिथि गुरुङ र जिफान नेपालका अध्यक्षले पनि प्रस्तुति दिएका थिए ।
दर्शकले खचाखच भरिएको कार्यक्रममा गीत, संगीत, नाटक र लोक-पौराणिक नृत्यबाट गुरुङ समुदायका संस्कृति पस्किँदै कलाकारले मन जित्न सफल भएका थिए ।