लन्डन । तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र पजे गोरे (बाजे गोरे) आगामी ८ डिसेम्बर २०२४ मा बेलायतमा प्रदर्शन हुने भएको छ ।
नेपाल र नेपालबाहिरका विभिन्न देशमा भव्य प्रदर्शनपछि डिसेम्बर पहिलो हप्ता अल्डरसटस्थित एम्पायर हलमा पजे गोरे प्रदर्शन गर्न लागिएको चलचित्र निर्माता तथा मुख्य अभिनयकर्ता गम (गोरे) गुरुङले जानकारी दिएका छन् ।
'काठमाडौंलगायत बेल्जियम र अन्य सहरहरूमा अपार भिडका साथ भव्य सफल प्रदर्शनपछि आउँदो डिसेम्बरको ८ गते आइतबार दिनको १२ बजे एम्पायर हल अल्डरसटमा पजे गोरे चलचित्र भव्य प्रदर्शन हुँदैछ । कृपया ! हजुरहरुको गरिमामय उपस्थितिका लागि आयोजक हार्दिक निमन्त्रणा अनुरोध गर्दछ,' निर्माण पक्षको सूचनामा उल्लेख छ ।
डिसेम्बरको उक्त प्रदर्शनका लागि टिकटको लागि अग्रिम बुकिङ खुला भइसकेको जनाउँदै नायक गुरुङले गेटमा सम्पर्क गर्न सकिने जनाए ।
आदिवासी जनजाति चलचित्रमा सर्वोत्कृष्ट अवार्ड जितेको पजे गोरे चलचित्रका निर्देशक भोज गुरुङ र गीत रचनाकारमा पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङ, संगीत/स्वर तेजेन्द्र गुरुङको रहेको छ ।
उक्त चलचित्र मुनाल फिल्मको ब्यानरमा निर्माण भएको हो । बेलायतवासी गम गोरे गुरुङ (लेखन तथा निर्देशन), दिल घले, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरूङ र शिरी गुरुङ निर्माता रहेका छन् ।
पर्यटकीय गाउँ सिक्लेसको भेँडीगोठ, कास्कीको गाउँपाखाहरू र पोखरा सहरमा छायांकन गरिएको यो चलचित्रको आफ्नो छुट्टै पहिचानका कारणले गर्दा यो चलचित्रले बजार लिइरहेको छ । बेलायतका विभिन्न सहरहरूपश्चात हङकङ र जापानमा प्रदर्शत गर्ने योजना रहेको निर्माता तथा नायक गम गुरुङले बताए जनाए ।