हङकङ । गुरुङ फिल्म एशोसिएसन हङकङ (जिफाह) को आयोजनामा आइतबार १७ नोभेम्बर २०२४ मा हुने 'जिफाह साँझ–२' का लागि अमेरिका निवासी गुरुङ चलचित्र निर्मात्री तथा नायिका एन्सर्ज गुरुङ हङकङ पुगेकी छन् ।
‘गुरुङ गीत, संगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला-संस्कृतिलाई विश्वभरी प्रवर्द्धन गरौं’ मूल उद्देश्यका साथ आयोजना गरिएको 'जिफाह साँझ-२' का लागि अमेरिकाबाट आमन्त्रित कलाकार एन्सर्ज शुक्रबार हङकङ अवतरण भएकी हुन् । उनलाई विमानस्थलमा आयोजक संस्थाका पदाधिकारी, सदस्य कलाकारहरूले स्वागत गरेका थिए ।
कलाकार तथा निर्मात्री एन्सर्जले जिफाह साँझमा उपस्थित हुन हङकङमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई निमन्त्रणा गरिन् । उनले अमेरिका, अस्ट्रेलिया, नेपाललगायत देशबाट गुरुङ कलाकार र चलचित्रकर्मी हङकङमा भेला भइसकेको उल्लेख गर्दै आइतबारको जिफाह साँझमा उपस्थित भएर कार्यक्रम सफल बनाइदिन आग्रह गरिन् ।
जिफाहले हङकङको काउलुनस्थित याउमा तेई कम्युनिटी हलमा गर्ने 'जिफाह साँझ–२' मा नेपाल, अमेरिका, अस्ट्रेलिया र हङकङ गरी करिब २ दर्जन गुरुङ चलचित्रका नायक- नायिका र गायक-गायिकाहरूको बेजोड प्रस्तुति रहने जनाइएको छ । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रम गुरुङ समुदायको कला-संस्कृतिको प्रवर्द्धन हुने गरी कलाकारहरूले गीत, नाटक र नृत्यसहितका प्रस्तुति पस्कने कार्यक्रम संयोजक तथा अध्यक्ष माया गुरुङले जनाइन् । सांस्कृतिक संयोजक गमन घले छन् ।
कार्यक्रमका लागि नेपालबाट गुरुङ चलचित्रका चर्चित कलाकारहरू आनन्द गुरुङ, मनोज गुरुङ, अन्जु गुरुङ, अनुसा गुरुङ, एन्सर्ज गुरुङ, अस्ट्रेलियाबाट विश्वात्मा गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर साजन गुरुङलगायतलाई निमन्त्रणा गरिएको हो ।
पछिल्लो समय हङकङमा नै कर्मथलो बनाई बसोबास गरिरहेका गुरुङ चलचित्रका चर्चित कलाकारहरू गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, मुस्कान गुरुङ, सिर्जना गुरुङ, प्रिय गुरुङ, सिर्जना गुरुङ (२) र गायक मनोज गुरुङको सामूहिक रूपमा प्रस्तुति रहने छ ।
यसअघि सन् २०१६ मा पहिलो जिफान साँझ भएपछि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडका कारण नियमित सञ्चालन हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिएको संस्थाका महासचिव विश्वास गुरुङले जानकारी दिए ।
कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सरकारको पूर्वकृषि, ऊर्जा तथा जलस्रोतमन्त्री, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ ‘श्याम’लाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको र गुरुङ फिल्म एसोसिएसन नेपालका वर्तमान अध्यक्ष राजबहादुर गुरुङ 'राजेश' लाई विशेष अतिथिमा निमन्त्रणा गरिएको छ ।