Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
साहित्य
  • Home
  • साहित्य
  • हाम्रो दशैँ यस्तो भो [निबन्ध]
हाम्रो दशैँ यस्तो भो [निबन्ध]
जानु कम्बाङ लिम्बु
जानु कम्बाङ लिम्बु आइतबार, कात्तिक ११, २०८१
Sanvi jeeler
Maoustail service
समय अभावले लेख्ने आदत छुट्ने हो कि भन्ने भयले लखेटिरहेका बेला ज्ञान दाइले 'दशैं विशेष' निबन्ध लेख्न अनुरोध गर्नु भो । म भने निक्कै दिनदेखि मनमा पोको परेर बसेका आफ्ना सृजनाहरूले निकास नपाउँदाको छटपटीमा थिएँ ।
 
वरिष्ठ निबन्धकार शंकर लामिछानेको निबन्ध 'गोरेटोको खोजीमा' सम्झिरहेकी छु, उहाँ भन्नुहुन्छ, पर्खालमै गोरेटो छ अथवा लेख्ने सामर्थ्य नभएकै बेला लेख्ने कोसिस गर ।
 
समयको तगारो त नाघ्न नसक्ने म नाथेले पर्खालमा गोरेटो कहिले र कसरी पहिल्याउनु ? लेख्ने सामर्थ्य नभएरै त होला पर्खालमा गोरेटो नजर नआएको ? ब्यर्थै उहिले चाहिँ खुबै लेख्ने जस्तो ? आफैलाई गाली गरी टोपल्छु, आखिर मान्छेले आफूलाई खुसी राख्ने बहाना खोज्ने मेलो त हो । आफ्नो गल्ती आफैले पहिल्याएर आफैंलाई गाली गर्नु पनि ठूलै हिम्मत पो चाहिन्छ, मैले पनि बटुलेँ ।  
 
अचेल सामाजिक संजालमा देखिने  अनेक किसिमका स्टाटस र रिलहरू हेर्दा र लाइक कमेन्ट ठोक्दा ठोक्दै दिनरात बितेको पत्तै हुन्न । आफ्नो सृजनामा काम गर्ने कहिले ? मनमा हुटहुटी नभएको पनि होइन तर हातका औंलाहरू अन्तै दगुरेपछि यी यस्तै गुनासो पोख्दै बस्नुको विकल्प पनि त छैन ।
 
उहिले बेलायतमा हुँदा कहिलेकाहीं नाइट ड्युटीमा परिथ्यो । रातमा फुर्सद धेरै, काम गर्दा गर्दै एकरात भित्रै एउटा कथा, कविता र संस्मरण तयार गर्थें, त्यसबेला जति लेखे पनि लेखिरहुँ लाग्थ्यो । एउटा सृजना तयार गरेपछि आत्मसन्तुष्टि मिलेर हो कि ! आरामको निद निदाउँथेँ ।
 
सन्तान आफ्नो राम्रो भने झैं मलाई ती मेरा सृजना राम्रा लाग्थे । पढेर आफैं बेहिसाब रमाउँथे । त्यसरी रमाउनुको सुखानुभूति नै योगा बन्थे सायद मेरो दिमागको र लेखिरहन्थेँ अनि रमाइरहन्थे एक्लै...एक्लै...।
 
अरुले यो मिलेन, त्यो मिलेन, फलानाको किताब पढ्नुस्, फलानाको गीत सुन्नुस् भन्थें । म भने आफ्ना सृजनामा खोट नदेखेर हैरान, दोहोराई तेहराई पढ्थें, पछि महसुस भयो त्यो कार्यले म आफूलाई झन् निखार्न मद्दत गरेछ ।
 
त्यसबेला आफ्नो सृजनामा खोट देख्न नसक्नु मेरो अज्ञानता थियो । आफूभित्र लुकेको कमीकमजोरी अथवा निर्बलता छुट्याउन सक्ने क्षमता थिएन रैछ भन्ने कुरो पछिल्लोपल्टका मेरा सृजनाहरूले बताए । त्यसो भनेर अहिले राम्रो सृजना गर्छु भन्न खोजेको चाहिँ होइन है फेरि ।
 
मैले लेखेर राखेका पुराना कविता, गीत या आख्यान सबैले म यहाँनिर कमजोरी छ ! यहाँनिर सुधार गर्न आवश्यक छ भने झैं लाग्थ्यो र काँटछाँटसम्म गर्न सक्ने बनाएँ आफूलाई भन्नमात्र खोजेको ।
 
मैले महसुस गरेको अर्को एउटा महत्वपूर्ण कुरो 'समाजमा तीन किसिमका मान्छे हुँदा रैछौँ, एक अरुको गल्तीमात्र औल्याउँदै बस्ने, राम्रो चिज त देख्दै नदेख्ने । अर्को जे-जस्तो देख्यो त्यस्तै कमेन्ट गर्ने, तीन नराम्रो लेख रचनालाई पनि वाह...वाह गरिदिने अनि राम्रो देख्दा भने बेवास्ता गर्ने । यस्तो देख्दा समाज र समुदायप्रति नै दया जागेर आउँथ्यो ।
 
म सुर नछाड्ने अटेरी टाइपको परें, मेरो खोइरो खन्नेहरूको पनि कमी थिएन, पछि विस्तारै थाक्दै गए उनीहरू । कतिले त समाज भेला गरेर माफी मगाउनु पर्छ भन्नसम्म भ्याएका कुरा सुन्थें । तर त्यस्ता कुराले निरास भइनँ बरु ती कुराहरूले झन् केही गरेर देखाउँछु भन्ने जोस अथवा मनमा उर्जा थपेको अनुभव गर्थें ।
 
तर, मनैदेखि फुरेका ती निर्दोष सृजनाहरूको कहिल्यै दोष देखिनँ । म भर्खर, भर्खर शब्दको खेती सुरु गरेको 'किसान' थिएँ । भनेजस्तो मलजल पुग्दैनथ्यो सायद ! बिउ र मौसम अनुसारको फल फल्थ्यो ।
 
आफ्नो सृजना पहिले आफैंलाई राम्रो लाग्नु पर्छ भन्ने कुरोमा विश्वास गर्थें, चाहे त्यो मेरो घमण्ड भनुन् या सामर्थ्यहीन । सर्जकले आफ्नै सृजनामार्फत आफ्नो परिचय दिने भनौं या क्षमता प्रस्फुटन गर्ने अथवा सिधै भन्दा आफ्नो सृजना नै आफ्नो डीएनए हो । ती सृजनाहरूमा जानु काम्बाङ देखिनु पर्‍यो, जानु काम्बाङको भाव आउनु पर्‍यो, फलाना ...फलानाको होइन ।
 
आफ्नै रगत पसिनाले कमाएको सम्पत्तिमा मिठो सुगन्ध हुन्छ र त्यसले सुखानुभूति दिन्छ । त्यस्तै आफ्नै मनबाट प्रस्फुटित सृजनाले सबैभन्दा पहिले सर्जकलाई नै आनन्दानुभूत गराउनु पर्छ भन्ने मेरो मान्यता हो ।
 
त्यसैले पनि आफ्ना सृजनाप्रति विश्वास थियो मलाई, तिनीहरूलाई पढ्दा आनन्द आउँथ्यो । लाग्थ्यो, ती अरुका भन्दा फरक छन् र फरक नै हुनु पर्छ किनकि म फरक छु अरुभन्दा । यही सोंचका साथ म सृजना गरिरहन्थें ।
 
मलाई मतलब थिएन अरुसँग । लाग्थ्यो, अरुसँग ज्ञान धेरै हुन्छ र राम्रो सृजना गर्छन् । म सँग जे जति छ त्यत्ति नै निस्कने हो, मेरो खोपडीको साइज कति पैसाको छ त्यत्ति नै अट्ने हो ।
 
यदि मेरो खोपडीमा बढी ज्ञान अटाउने ठाउँ छैन भने जबर्जस्ती अरुको किताबको कपि पेस्ट त्यहाँ गरेर कहाँ हुन्छ ? त्यसैले भो ठूली जे आउँछ त्यहीं लेख भन्छ मेरो मनले । त्यसबेला जति लेख्दा पनि नथाक्ने यी औंलाहरू यसबेला आएर थाकेछ्न् तर मन भने नथाकेको हो कि झैं लाग्छ ।
 
सपनामा परीक्षा लेख्न बस्दा प्रश्न नबुझेर हैरान भएझैँ विपनामा आफ्नै मथिंगल वरिपरि चक्कर लाइरहने यी प्रश्नहरूमात्र होइन । वास्तवमा विभिन्न समस्या र उतारचढाबले झेलिएको मानिसको जिन्दगी नै बुझ्दिनँ म, अनि ? लेख्ने सामर्थ्य कहाँबाट हुनु ?
 
केही महिना बस्छु भन्दा भन्दै २ वर्ष बसिसकें हङकङ । तर यहाँ बस्ने धित मरेको छैन अझै ! समय त जहाँ बसे पनि साँच्ने गर्छु तर साँचेको समयलाई व्यवस्थापन गर्न भने सक्दै सक्दिनँ । हुन त माथि पनि भनिसकें, पहिले जस्तो जोसजाँगर पनि त कहाँ बाँकी रह्यो र अब ?
 
व्यवहार र काम कर्तव्यहरूले थिचेर बाँझो भैसकेको मनलाई खनजोत गरेर शब्दका बीज उमार्न सजिलो छैन । जिन्दगी सपार्दा सपार्दै आधा उमेर बित्यो । मिलेकोलाई बिगार्न सजिलो तर बिग्रेकोलाई सपार्न एकदम गाह्रो । आखिर जिन्दगी पनि त त्यस्तै रैछ । एकतिर सपार्‍यो अर्कोतिर बिग्रने । एकापट्टी टाल्यो अर्कोतिर चुहिने । ठ्याक्कै पुरानो घुमजस्तो । कुन-कुन ठाउँबाट समस्याहरू रसाएर चुहिन्छन् थाहै नहुने ।
 
स्मरण शक्तिमा बुढ्यौलीको छायाँ पर्दै गएपछि मनको आलिमा पलाएका अनेक प्रकारका झारपातहरू ताछ्न नसकिने रैछ । यसरी नै मनमा थाक लागेर बसेका  प्रश्नहरूको जवाफ खोजिरहेको बेला ज्ञान दाइको अनुरोध स्वीकारौ कि नकारौको अन्योलमा गिलास ठोक्काई रहें । त्यसरी समूहमा वाइनको गिलास ठोक्काउनु पनि कला नै चाहिँदोरहेछ कि के हो कुन्नी ? शब्दहरू ठोक्काएर सृजना गर्न सिक्दै गरेको मलाई गिलास ठोक्काएको पट्टकै नसुहाएझैँ लाग्यो । अहं यो बहिनीले जान्दैन रैछ ? ज्ञान दाइको गुनासो थियो । म त्यसदिनको समूहमा तालिम नपुगेको सिपाहीजस्तै भएँ ।
 
मसँग त्यो कला छैन भन्ने कुरो ठोक्काउने साथ टेबलमा गिलास बिसौदा साथीहरूको 'चियर्स गरेपछि त पिउने पो त' भन्ने हल्लाले चाल पाउँछु । हुन पनि कसरी थाहा हुनु ? न बाऊ बाजेले लुँबाको छानुवा पोक्खिजाने गरी ठोक्काएको देखियो न सिलभरले बाँधेको काठको तोङ्ग्बा ठोक्काएर चियर्स गरेको देखियो ।
 
पहिलो पाठशाला घर अनि पहिलो गुरूआमा, गुरूबा आफ्नै अभिभावक भन्ने संस्कारबाट आएको मलाई यो पश्चिमा संस्कार के सुहाउँन्थ्यो ?
 
यो कला त ज्ञान दाइसँग मात्र थियो र त पटक-पटक ठोक्काइरहनु हुन्थ्यो गिलास । दाजुको त्यो तालमा ताल मिलाउन मात्र हामी हातको गिलास चटकेले झैं नचाइरहन्थ्यौं । हूलमा बसेर पिउँदाको मज्जा बेग्लै फेरि ! आफू त बोल्नै नपाउने बस हाँसिरहे पुग्ने, पेट मिचीमिची हाँस्ने कला चैं रछ भन्ने त्यही दिन चाल पाएँ ।
 
नत्र त म त्यो हूलकै अनौठो मानिस ठहरिन्थे । सानोमा देखेको दाइसँग भेट्न पाउँदा र भाउजुसँगै मेलोमा नारिएर काम गर्न पाउँदा ख्याल स्वाद लागेको छैन मलाई । भाउजु एकदम सुभानी पाराको बोलिरहनु पर्ने स्वभावको हुनुहुन्छ, दाइ भने गुमसुम बस्ने सोधेको जवाफमात्र फर्काउने । बोली फुटाल्न त सेन्तेरेम नै चाहिने ! खोई कुन्नि पुरै विपरीत ध्रुवको दुई मान्छेको मिलन कसरी भयो ? त्यो उनीहरू नै जानून् ।
 
हामी ज्ञाने दाइलाई पेक्तू दिदीको भाइ भनेर चिन्थ्यौं सानोमा । दाजुहरू हाम्रै गाउँले भैकन पनि बाजेहरूको पालादेखि सिक्किममै बसोबास गर्ने भएकोले त्यति नजिक हुन पाएनौं । गाउँमै हुर्किएको हामीलाई आफ्नो पुर्ख्यौली गाउँ फुरुम्बोको बारेमा सोधेरै हैरान पार्नु हुन्छ ।  
 
फुरुम्बो ताप्लेजुङबाट तमोरखोलातर्फ जाँदा हाङ्ग्देन्वा खोला काट्ने बित्तिकैको गाउँ हो । फुरुम्बो छेउछाउमा पर्ने गाउँहरू खेबेङ्ग, माङ्ग्यूङ्ग अनि लिङ्ग्खिम हुन् । यी गाउँहरूमा फुरुम्बो, माग्युङ, तबेबुङ, लेछर्बो र लिंग्खिम थरिका लिम्बूहरूको बसोबास रहेको पाइन्छ भने यहाँ बसोबास गर्ने मानिसहरूको मुख्य बजार तल सेंवा र मित्लुंग हुन् । हाल यी गाउँहरू सबै फक्ताङलुङ गाउँपालिकामा पर्छन् ।
 
खानपिन पछि झन्डी, मकूट सुरु भो । सुरुमा मैले मुकुटमा खत्रक्क दुई डलर फाल्दा दाइले लु सेवारो हजुर ! नमस्ते वरिष्ठज्यूको यो के ताल हो ? भन्दै सानो हँसाएको होइन ।
 
गिलास ठोक्काएपछिको यो नयाँ थेगो हामी सबैको सम्बोधनमा नाचिरहन्थ्यो । म दाइले यो थेगो निकाल्दा गर्ने एक्स्प्रेसनको ठूलै फ्यान भैसकेकी थिएँ । दिलु भाउजु छेउमा उभिएर छ्या...त्यो के बोलेको होला भन्दै गाली गर्नुहुन्थ्यो । दाइले टेरे पो...।
 
यत्रोदिन कामका दाइ बोलेको नसुनेको मलाई घरमा गिलास ठोक्काइसकेपछिको रुप देखेरै छक्क । कमेडी पनि यत्ति कि ? कमेडी शो नै हेर्दै छु जस्तो । मैले २ डलर राखेपछि मलाई पछ्याउनेहरूको लर्को नै लाग्यो । खाएर पेट ढुस्स भएको हामीलाई भूइँमा बसेर एउटै खेलमा धेरै बेर रमाउन सकेनौं । 'होइन यो दुई डलर ड्राइगेसमै कमाएको हो ?' म र भाउजुलाई हेर्दै निक्कैबेर पछि दाइले यसो भन्दा एकपल्ट फेरि घरै थर्किने गरी हाँस्यौं । भाउजु हाम्रो गिलास खोज्नु र थप्नुमै व्यस्त, टेलिभिजनको पछाडि लुकाएको वाइन गिलास जहिल्यै भरी देखेर मलाई हेर्दै भाउजु हाँस्नुहुन्थ्यो ।
 
मेरो गिलास हेर्दै दाइले 'सेवारो नमस्ते हजुर वरिष्ठज्यू' गिलास घटेन त ? भन्नुहुन्थ्यो उहाँको त्यो कमेडी बोलीले हामी सबै हाँस्थ्यौं । तर दाइको अनुहारमा हाँसोको एउटा ह पनि नहुँदा अचम्मैको व्यक्तित्व लाग्थ्यो ।
 
हाँस्दा हाँस्दै बेसुरमा दाजुले गीत लेख्ने अनुरोध गर्नु भो त्यो पनि हातै जोडेर अहिले नै ठाउँको ठाउँ रे । अब पर्‍यो कि फसाद...?
 
अलिकति अमृत पिलाएर आएँ
थोरै खुसी, थोरै प्रेम दिलाएर आएँ
प्रेमिल जिन्दगीको गणित बुझ्दैछु अचेल
उनीसँग खातापाता मिलाएर आएँ ।।
 
मैले यत्ति लेखेर वाचन गरिदिएँ, भाउजुले वाह...वा भन्दै ताली पिट्नु भो, भान्जी र ज्वाँइले दामी भन्नु भो, पछि पछि ज्ञान दाइले होइन तिमी क्यू सी हो कि साहित्यकार हो ? म कन्फ्यूज भन्दै हाँस्नु भो । मैले हाँस्दै म काममा मात्र क्यू सी (क्वालिटी कन्ट्रोल) भनेँ ।
 
हैट...यस्तो सर्जक कहाँ कन्स्ट्रक्सनमा काम गरेको त ? दाइले पिएपछि भन्ने यो भनाइ क्षणिक भएकोले खासै महत्व दिइनँ मैले ।
 
ड्रागेस एउटा ठूलो फ्रान्सेली कन्स्ट्रक्सन कम्पनी हो । जसको शाखा हङकङमा पनि छ, यो कम्पनीले धेरै जस्तो जमिन मुनिका सडक (टनेल) हरू बनाउने गर्छ । यो कम्पनीमा कामदारका रुपमा धेरैभन्दा धेरै नेपालीहरू रहेका छन् । हाल तुञ्चुङ्ग स्टेसनदेखि अलिपर मुन्तुङ्ग र याततुङ्ग भन्ने ठाउँहरूलाई जोड्ने नयाँ (एमटीआर) रेल कुद्‌ने टनेल बनाउने कन्ट्र्याक पाएर धमाधम काम भैरहेको छ ।
 
म परिवारदेखि टाढा रहेर यसरी आफन्तसँग २०८१ सालको दशैं मनाउँदै थिएँ, साथमा लल्लु भान्जी र ज्वाइँ पनि हुनुहुन्थ्यो । भन्न त भन्छौं दशैं हाम्रो चाड होइन । मान्नु हुँदैन । तर किन किन दशैं आउनासाथ मन पुलकित हुन थाल्छ । त्यसै त्यसै रमाउँछ मन, गाउँघर र आफ्ना आफन्त याद आउँछन् । साथीसंगीले सम्झन थाल्छन्, टीका नलाए पनि रमाइलो गरौँ भन्छन् ।
 
दाजु, भाउजु हामी सबै एउटै कम्पनीमा काम गर्ने भएर यो अवसर जुरेको हो । नत्र परदेशको ठाउँमा कहाँ समय मिल्नु ? आज दशैं भनेरै दाजु, भाउजु दुवैले छुट्टी लिएर बस्नु भएको थियो । दाजुले सुरुमै भन्नुभएको थियो - 'आज यहाँ भएका सबै चिज दशैं विशेष हुन् ।' 
 
'दशैं विशेष' पेय पदार्थ पिउन गिलास चियर्स गर्दै गर्दा दिलु भाउजुचाहिँ पानीको गिलास ठोक्काउन ल्याउनु हुन्थ्यो, ज्ञान दाइ 'पानीवाली आयो' भन्दै हाँस्नु हुन्थ्यो ।
 
सोफिया भान्जी र म वाइनवाली । ज्वाइँ बियरवाला । ज्ञान दाइ रेड लेबलवाला भयौं । हामीलाई यसरी नाम राखिदिने ज्ञान दाइलाई वरिष्ठ पण्डितको नामले पुकार्न पनि बेर लाएनौं हामीले । उहाँको बोली सुपरडुपर कमेडी । ढाइस, तास अनि अन्त्यमा अन्त कसरी खेल सुरु भो, म केही नजान्ने । भिडियो खिच्नतिर लागेँ । भाउजु सोफामा बसेर ताली पिट्न लाग्नु भो । गीत मामाले उठान गर्ने कि भान्जीले ? ज्वाँइको प्रश्न आयो । 
 
रम्बा...हो ...हो ...हो ..लु 'हो' बाट ? दाइले भन्नु भो । दाइको अर्को विशेषता, गीतसँगै नृत्य र अभिनय दुवै गर्ने त्यो कार्यले झन् मनोरन्जन दिलाउने ।
हामने घर छोडा हे...गे...लु गे बाट सुरु...लल्लु भान्जीले सुरिलो स्वरमा गीतको अन्त्य गर्दै भन्नु भो ।  
 
म ब्याग बोकेर निस्किन लागेको मान्छे अन्ताक्षरीले रोकिएको थिएँ । वास्तवमा त्यसदिन मलाई शाम शोई पो कुसुम बहिनी र मामाले पनि बोलाउनुभएको थियो । शाम शोई पो हाम्रो हरेक वर्ष भेला भएर रमाइलो गर्ने ठाउँ थियो । त्यसैले पनि म पुग्न चाहन्थें तर ज्ञान दाइ र भाउजुले हिँड्न दिए पो पुग्नु ? भाउजुले अनेक प्रकारका परिकारहरू सर्भ गरिरहँदा लाग्थ्यो, 'हामी दाइ भाउजुको घरमा नभएर कुनै भब्य रेस्टुरेन्टमा छौं', नाई ...नाई, भयो भयो भन्दा पनि थपेको थप्यै गर्ने आदत त झन् ठ्याक्कै लिम्बुनी पाराको थियो ।
 
'भाउजु लिम्बु पाराले नथप्नुस् न ?' मैले भनेँ ।
'आच्या.....अनि उनी लिम्बुनी त हुन् नि ? जन्मँदा पो मगर थिइन् त,' दाइले उतापट्टी उभिएर यसो भन्दा फेरि हो...हो....भन्दै उहाँको कुरोलाई समर्थन गर्‍यौं  ।
 
मैले शाम शोई पो नजाने निर्णय गरिसकेकोले खाना खाइसकेर भान्जी ज्वाँइ र म तल ओर्लियौं । अनि दाइ भाउजुले दिनु भएको रातो खाम (लाइसी) छाम्दै ट्याक्सी चढेर लाग्यौं आ-आफ्ना गन्तव्यतिर । खामभित्र त निक्कै मोटो लाइसी पो थियो है ! यो सबै माया आशीर्वाद र साथ सपोर्टको निम्ति दाइ, भाउजुलाई धन्यवाद ।
 
लौ हजुर यसपालिको हाम्रो दशैं यस्तै भो तपाईंहरूको नि ?

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप साहित्य
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता] आइतबार, साउन ११, २०८२
एक जमानामा हामी पनि थियौं [कविता]
एक जमानामा हामी पनि थियौं [कविता] शनिबार, साउन १०, २०८२
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित मंगलबार, साउन ६, २०८२
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’ शनिबार, साउन ३, २०८२
देशको माया [गीत]
देशको माया [गीत] आइतबार, असार २९, २०८२
म जोर्डन आउँदिनँ [कविता] 
म जोर्डन आउँदिनँ [कविता]  आइतबार, असार २२, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्