काठमाडौं । ५५ वर्षीया गायिका साबित्री गुरुङले मौलिक भाकाको कौडा गीत 'दिउँला चिनो' सार्वजनिक गरेकी छन् ।
गण्डकी प्रदेशका जिल्लाहरुमा प्रचलित रोधीं र सार्वजनिक कार्यक्रममा गाइने मौलिक भाकाको दिउँला चिनो गीत साबित्री गुरुङ युट्युब च्यानलबाट यही आइतबार सार्वजनिक गरिएको हो । उक्त गीत साबित्री र मठ्ठु गुरुङले गाएका छन् ।
दिउला चिनोको शब्द रचना युनिक थापामगर र मन्जु गुरुङको रहेको छ भने म्युजिक युनिक थापामगरकै रहेको छ । यस्तै म्युजिक एरेन्जर राजु तोलाङ्गी गुरुङ, भिडियो निर्देशन तथा कोरियोग्राफर आशीष गुरुङले गरेका छन् ।
भिडियोमा सुरज गुरुङ, दीपशिखा गुरुङ, ब्राजिल गुरुङ र एलिजा गुरुङो जोडदार अभिनय छ । भिडियो सम्पादनको भूमिकामा अशिमचन्द्र विश्वकर्मा रहेका छन् ।
पुराना र चर्चित गीत डाँडाकाँडा स्वामीको रुखकी संकलकसमेत रहेकी गायिका साबित्रीले नेपाली समाजको रीतिरीवाज, संस्कार र संस्कृति झल्किने मौलिक गीत दर्शक/स्रोतामाझ पस्किएको बताएकी छन् । गीत सार्वजनिक भएयता दर्शकले मन पराएकोले यसबाट आशा राखेको उनको भनाइ छ ।
झन्डै तीन दशकमा गायनमा 'कमब्याक' भएकी सावित्रीले लोकप्रिय गायक कृष्ण थापामगरसँग मिलेर गत वर्ष मात्रै पनि 'निभ्दैन आशाको दियो' गीत निकाल्नुभएको थियो । सोही वर्ष लरलर डोरीको फुन्दा दर्शकमाझ ल्याउनुभएको थियो ।
। 'सलल पानी डुंगैमा' पनि सावित्रीको गीत हो ।
वि.सं २०४६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी सावित्रीले व्यस्तता र पारिवारिक जिम्मेवारीका कारण त्यतिबेला ६/७ वर्षभन्दा बढी गायनलाई निरन्तरता दिन सकिनन् । उनले त्यसबीचमा दुई दर्जनभन्दा बढी गीत गाएकी थिइन् । आफ्नै एल्बम २ वटा निकालेकी थिइन् ।
प्रतिभा र इच्छा हुँदाहुँदै गीत/संगीतको यात्रालाई थाँती राखेकी साबित्रीले गत ४ वर्षदेखि फेरि निरन्तरता दिन थालेकी हुन् । 'पैसा कमाउँला भन्ने त होइन, आफ्नो रहर र केही कृति गीत संगीतमा छोडिराख्न व्यस्तै भए पनि यस क्षेत्रलाई निरन्तरता दिँदैछु,' सावित्रीले गोर्खा मिडियासँगको कुराकानीमा भनिन् ।