हङकङ । गुरुङ फिल्म एशोसिएसन हङकङ (जिफाह) को आयोजनामा आगामी नोभेम्बरमा १७ मा 'जिफाह साँझ–२' हुने भएको छ ।
जिफाहले हङकङको काउलुनस्थित याउमा तेई कम्युनिटी हलमा 'जिफाह साँझ–२' गर्न लागेको हङकङमा आयोजित जानकारी सभामार्फत जनाएको हो । 'गुरुङ गीत, संगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतिलाई विश्वभरि प्रवर्द्वन गरौं' भन्ने मूल उद्देश्यले कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिइन् । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमका लागि करिब एक दर्जन बढी कलाकारहरु उपस्थित हुनेछन् ।
कार्यक्रममा गुरुङ समुदायको कला-संस्कृतीको प्रवर्द्धन हुने गरी कलाकारहरुले गीत, नाटक र नृत्यसहितका प्रस्तुतिहरु पस्कने छन् । कार्यक्रम संयोजकमा अध्यक्ष माया गुरुङ रहेका छन् भने सांस्कृतिक संयोजक गमन घले रहेका छन् ।
कार्यक्रमका लागि नेपालबाट गुरुङ चलचित्रका चर्चित कलाकारहरु आनन्द गुरुङ, मनोज गुरुङ, अञ्जु गुरुङ, अनुसा गुरुङ, अमेरिकाबाट प्रेम गुरुङ, एन्सर्ज गुरुङ, अस्ट्रेलियाबाट विश्वात्मा गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर साजन गुरुङ आउने तयारी रहेको उनले बताइन् ।
पछिल्लो समय हङकङमा नै कर्मथलो बनाई बसोबास गरिरहेका गुरुङ चलचित्रका चर्चित कलाकारहरु गमन घले, बिश्वास गुरुङ, ओम गुरुङ, मुस्कान गुरुङ, सिर्जना गुरुङ, प्रिय गुरुङ, सिर्जना गुरुङ (२) र गायक मनोज गुरुङको सामूहिक रुपमा प्रस्तुति रहने छ । उनले भनिन्, 'कार्यक्रम विशुद्ध हाम्रो लोप हुन लागेको भाषा, संस्कृति, भेषभुषाको जगेर्ना र विश्वमा हाम्रो ‘कल्चर’को बारेमा प्रवर्द्धन गर्न सफल हुने विश्वास छ ।'
यसअघि सन् २०१६ मा पहिलो जिफान साँझ भएपछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडका कारण नियमित सञ्चालन हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका महासचिव बिश्वास गुरुङले जानकारी दिए ।
कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सरकारको पूर्वकृषि,ऊर्जा तथा जलस्रोतमन्त्री, गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ 'श्याम' लाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको र गुरुङ फिल्म एशोसिएसन नेपालका वर्तमान अध्यक्ष राजबहादुर गुरुङ 'राजेश' लाई विशेष अतिथिमा निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक माया गुरुङको अध्यक्षतामा भएको जानकारीसभामा स्वागत उपाध्यक्ष ओम गुरुङ र सञ्चालन महासचिव बिश्वास गुरुङले गरेका थिए ।