लन्डन । बेलायती अभिनेता जेमी बेकनले शीर्ष भूमिकामा अभिनय गरेको नेपाली चलचित्र ‘एक्लो’को छायांकन सकिएको छ । साइन्स फिक्सन चलचित्रको नेपालको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो ।
चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक प्रदीप शाहीले बताए । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यका साथ एक्लो निर्माण गरेको उनको भनाइ छ ।
अभिनेता जेमी बेलायतको निर्माण साझेदारका रूपमा समेत जोडिएका हुन् । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य छ।
बेलायतमा ‘फिल्म मेकिङ’ पढेका शाही केही सर्टफिल्म र सिरिजमा काम गरेपछि नेपाली फिल्म निर्देशनमा होमिएका हुन् । यसअघि उनले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।
एक्लोमा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज लगायत कलाकारको अभिनय छ।
यस चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता बादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।
बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन ।