काठमाडौँ । सुष्मा गुरुङको नेतृत्वमा कैलाश, मानसरोवर र ल्हासा यात्रा गरेर २८ जनाको टोली बेलायत फर्किएको छ । टोली २० सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म ल्हासाका विभिन्न ठाउँ घुमेको थियो । त्यसअघि कैलाश र मानसरोवर क्षेत्रको भ्रमण गरेको थियो ।
ल्हासामा रहँदा पोटला प्यालेस, झोखाङ्ग गुम्बा, नरबुलिङ्खा, रामोचे गुम्बा, शेरा गुम्बा, ड्रेपुङ्ग गुम्बा र बाखोर स्ट्रिटको अवलोकन गरेका थिए । प्रत्येक नेपालीको गौरव रानी भृकुटी देवीको नामसँग जोडिएको सुन्न र हेर्न पाउँदा सबै हर्षित थिए । नेपालमा बनेको जोआ मिक्यो दोर्जे भृकुटीद्वारा सी ६२२ मा तिब्बत लगेको रहेछ । उक्त मूर्ति झोखाङ्ग गुम्बामा राखिएको रहेछ । यही माध्यमबाट नै तिब्बतमा बुद्ध धर्म फैलिएको इतिहासमा उल्लेख छ ।
ल्हासालाई भगवानको भूमि भनेर चिनिन्छ । त्यहाँको गुम्बाको अवलोकन गर्दा अझै पनि मानिस विभोर भएका थिए । संसारकै आग्लो उचाइमा रहेको सहरमध्ये पर्ने ल्हासा विभिन्न हिसाबले अद्वितीय मानिँदो रहेछ।
पोटला दरबार अगाडिको ठूलो स्क्वाएरमा झन्डै आधा दिन नै स्थानीय पोसाक लगाएर फोटो भिडियो खिच्दै रमाएका थिए ।
तीन दिनको रमाइलो ल्हासा भ्रमणपछि सेप्टेम्बर २३ बिहानै गोन्गर विमानस्थल आइपुगियो । तिब्बत साइडका टुर गाइड डोल्मा विमानस्थलसम्म बिदाइ गर्न आइपुगेका थिइन्। केही घण्टामा नै हिमालयन एयरलाइन्समार्फत काठमाडौँ अवतरण भएको थियो । यात्रा पण्डित मधु सुदन सत्यालद्धारा पशुपतिनाथ मन्दिरमा सामूहिक पूजा गराएर दुई हप्ता पहिले सुरुआत भएको थियो ।
यात्रा सफल गरेर फर्किएपछि पनि कैलाश र मानसरोवर तालबाट ल्याएको पवित्र जल अर्पण गर्न सबै मन्दिरमा उपस्थित भए । पण्डित सत्यालले जल चढाएर सबैको मंगलको कामना गरे ।
त्यसपछि टोली हायात् प्यालेसमा पुग्यो । बेलुका यात्राको समालोचन र बिदाइ कार्यक्रम राखिएको थियो । आठौँ तलामा रहेको हल पीफोरमा सात बजे नै जम्मा भएका थिए ।
फ्लाई ऐभरेस्ट टुर एन्ड ट्राभल्सका डाइरेक्टरद्वय कटकबहादुर तामाङ र सुशील जोशीलाई टिमका नेत्री सुष्मा गुरुङले खादा लगाई मायाको चिनो दिएकी थिइन् ।
यात्राबारे सबै जनाले आ-आफ्नो अनुभव शेयर गरेका थिए। फ्लाई एभरेस्टका विशेषसँगै यात्रामा खटिएका स्टाफको सबैले खुलेर तारिफ गरेका थिए ।
लामो समय खटेर सकुशल यात्रीहरूलाई आफ्नो गन्तव्यसम्म पुर्याउन सफल संयोजक शुष्मा गुरुङलाई टोलीको तर्फबाट धन्यावाद स्वरूप सिनियर मेम्बर विष्णु राईले फूलको गुच्छा दिएका थिए । कार्यक्रम पण्डित सत्यालले चलाएका थिए। त्यसपछि टोली बेलायत फर्किएको छ ।