टोकियो । तमु धीं जापानले २६औँ रोधी साँकृतिक साँझ मनाएको छ । आइतबार टोकियोको सिन्ज्युकुस्थित वार्प क्लबमा विशेष कार्यक्रमको आयोजना गरी तमु धींले सांस्कृतिक साँझ मनाएको हो । कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म WARP CLUB SHINJUKU (खाल्डो), टोकियोमा भएको थियो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक पप गायिका तृष्णा गुरुङ एन्ड कोलाब ब्यान्डको विशेष प्रस्तुति थियो । गायिका गुरुङले ‘माया पिरती’, ‘साँझको बेला’, ‘माया मनभरी’ ‘जाउन माया रोधीं’ ‘खानी हो यामु’ र भर्खरै रिलिज भएको ‘नाम के हो’ जस्ता चर्चित गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन् । हालै रिलिज भएको तृष्णा गुरुङको ‘नाम के हो” बोलको गीत अहिले चर्चामा छ ।
कार्यक्रमको सुरुआती चरणमा स्थानीय कलाकार गायक प्रथम गुरुङ, बिपन गुरुङ र प्रथम गुरुङको प्रस्तुतिले माहौल संगीतमय बनाएको थियो । योसँगै तमु कलाकारले आफ्नो कला संस्कृति झल्काउने करिब आधा दर्जन जति उत्कृष्ट नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाएका थिए ।
तमु धीं जापानको महासचिव विनय तमुले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हिमानी गुरुङले गरेकी थिइन् । प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, NRNA जापानका अध्यक्ष नवीन निउरे, NBA JAPAN का अध्यक्ष विजय थकालीलगायत अतिथि तथा दर्शकको उपस्थिति थियो ।
प्रमुख अतिथि तथा अतिथिहरूबाट संयुक्त रूपमा समुद्घाटन गरी तमु राष्ट्रिय गान र नेपाली राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी, NRNA जापानका अध्यक्ष नवीन निउरे, विजय थकाली, र ओम गुरुङले राखेका थिए ।
अन्त्यमा सम्पूर्ण सहयोगी दातालाई धन्यवादसहित सम्मान, मायाको चिनो प्रदान गर्दै औपचारिक कार्यक्रम पूरा भएको थियो । अध्यक्ष हिमाली गुरुङले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।