लन्डन । चर्चित लोक तथा दोहोरी गायक तथा मोडल मिलन लामा यो दसैं, तिहारका बेला बेलायतमा रहने भएका छन् ।
चितवन एड ट्रस्ट (क्याट) युकेको निमन्त्रणामा गत जुलाई २६ तारिख २०२४ मा बेलायत आएर करिब दुई हप्ता यहाँ रहेका गायक लामा फेरि अक्टोबरमा आउने भएका हुन् ।
अक्टोबरका लागि विन्चेस्टर, प्लमस्टिड, सिउथ हम्पोनमा कार्यक्रम फिक्स भइसकेको र केन्ट, वेल्सलगायत ठाउँमा छलफल चलिरहेको गायक लामाले गोर्खा मिडिया युकेलाई जानकारी दिए ।
यसअघि २८ जुलाईमा क्याट युकेको शैक्षिक अक्षय कोष वृद्धि सहयोगार्थ च्यारिटी कार्यक्रम, २ अगस्टमा मिलन लामा म्युजिकल नाइट लगायत कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएका थिए । १० अगस्टमा यतैबाट सीधै पोर्चुगल उडेका गायक लामाका त्यहाँ पाँच वटा कार्यक्रम तय भइसकेको छ । त्यस लगत्तै स्पेनको बिल्बोमा २१ अगस्टमा, बार्सिलोनामा २६ अगस्ट र नर्वेमा १ सेप्टेम्बर कार्यक्रम हुने उनले जानकारी दिएका छन् । उनको प्रस्तुतिका लागि जर्मनीमा कार्यक्रमबारे छलफल चलिरहेको छ ।
गायक लामा 'माझी दाइ पोखरा फेवातालको', 'हङकङ आइडी', 'जुम्ला कालीकोटको', 'घरमा पराल', 'कृष्णभीरमा जाम', 'बेसारेको' लगायत दर्जनौं लोकप्रिय गीतका सर्जक हुन् मिलन ।
चितवनमा जन्मिएका गायक लामा समाजसेवामा रची राख्दछन् । उनी गत २०७९ को संघीय निर्वाचनमा उम्मेदवारसमेत बनेका थिए ।