काठमाडौं । चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त चलचित्र निर्माण गरेको हो । अग्निदहनमा कलाकारहरु प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोलालगायत रहेका छन् । चलचित्रको निर्देशन घनश्याम लामिछाने, सहायक निर्देशक परिच्छेद सेन र चन्द्र भण्डारीले गरेका छन् । चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ ।
चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, प्रोडक्सन डिजाइनर सगर पाण्डेको रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताए । उनले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले प्रसंशा गरे ।
वरिष्ठ कलाकार, निर्देशक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।
चलचित्र अग्निदहनका निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी चलचित्र निमार्ण भएको बताए । उनले आगामी मंसिर ७ गते हलमा आएर यो चलचित्र हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन चलचित्र निर्माण गरिएको उनको भनाइ छ ।