लन्डन । बेलायतमा बनेको नेपाली चलचित्र ‘उडल्यान्ड’को प्रिमियर सो सम्पन्न सम्पन्न भएको छ । प्रबल सोनाम घिसिङ (प्रेम लामा) को लेखन तथा निर्देशनमा बनेको चलचित्रको रेडिङस्थित द बेबिलियन हलमा २० जुलाईमा भव्य समारोहबीच प्रिमियर भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि शाक्यलिंक सेन्टरका संस्थापक अध्यक्ष चन्द्रसागर लामा, ग्रेटर नेपाली समाज यूकेका उपाध्यक्ष यादव श्रेष्ठ र वरिष्ठ समाजसेवी सीबी पुनको उपस्थिति रहेको थियो । अतिथिहरूको बाहुलीबाट दुई दर्जनभन्दा बढी कलाकारलाई खादा, पुष्पगुच्छा र सम्मान पत्रले सम्मान गरिएको थियो । दिउँसो साढे ४ बजे सुरु भएको औपचारिक कार्यक्रम सवा ६ बजे सम्पन्न भएको थियो । त्यस लगत्तै स्क्रिन अन गरियो । ३०० हाराहारीमा उपस्थित दर्शकले चलचित्र सुरुदेखि अन्तसम्म हेरेका थिए ।
चलचित्रमा प्रबल सोनाम घिसिङ, क्रिस एप्पलटन, सलिना थापामगर, सरु गुरुङ, प्रसुना कँडेललगायत दुई दर्जन नेपाली तथा विदेशी कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता दावा स्याङ्बो घिसिङ, करम गुरुङ, राम लामा, नरेश पुडासैनी र रचना राई रहेका छन् । यसैगरी, संगीत थिम स्टुडियो लन्डन तथा गीत कम्पोजर विक्रम कार्की र स्वर सुगम पोखरेलको रहेको छ ।
‘सस्पेन्स एन्ड थ्रिलर’ चलचित्र पहिलो पटक हेर्न पाएको दर्शकले प्रिमियरपछि बताएका थिए । दर्शकहरूले सुरुदेखि ‘अब के हुने हो’भन्दाभन्दै चलचित्र सकिएको थियो । दर्शकहरू चलचित्र सकिएपछि पनि हल छाड्न मानेका थिएनन् । पुनः देखाउन माग गरिरहेका थिए । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माण टिम उत्साही भएका थिए । दर्शकले चलचित्र औधी मन पराएर पार्ट २ को पनि माग गरेपछि केही समयमा नै पार्ट २ पनि लिएर आउने निर्माण पक्षले प्रतिबद्धता जनाएका थिए । सो बेलुका साढे ८ बजे सम्पन्न भएको थियो ।
चलचित्र अति नै उत्कृष्ट भएको र समाजको यथार्थ विषयवस्तुलाई समेटेर बनाएको हुनाले यो चलचित्र नभई आफ्नै रियालिटीको प्रतिबिम्ब रहेको यादव श्रेष्ठले बताए । आगामी दिनमा पनि यस्तो चलचित्र बनाउन चन्द्रसागर लामाले शुभकामना दिए । अन्त्यमा सीबी पुनले उपस्थित सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे ।
दर्शकको उच्च माग रहेका कारण अर्को सो रेडिङमा नै राख्ने निर्माण पक्षले जनाएको छ । यसैगरी बेलायतभर देखाउनेसमेत योजना छ । अन्तर्राष्ट्रिय स्तरमा लैजाने पनि तयारी भइरहेको छ । यस चलचित्रलाई ब्रिटिस बोर्ड अफ चलचित्र क्लासिफिकेसनले १२ ए रेटिङ दिएको छ । जसमा १२ वर्षभन्दा कमका नानीहरूले अभिभावकसँग मात्र चलचित्र हेर्न पाउँछन् ।
नेपाली र अंग्रेजी भाषा दुवैको बराबर प्रयोग गरिएको छ । प्रिमियर सोमा नेपाली मात्रै नभएर अन्य देशका दर्शकको पनि खचाखच उपस्थिति रहेको थियो । उनीहरूले पनि नजिकै हलिउड लेभलको चलचित्र हेर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । प्रेमिस भिजन यूकेको प्रस्तुति उडल्यान्ड घिसिङको पाँचौँ सिर्जना हो ।