कोभिडको त्रास सकिए पनि हङकङमा सकिएको थिएन । भाइरल भाइरस पनि अचम्मैको, सबै देशमा भिजिट भिसा हानेर पालैपालो घुम्न गए जस्तो | हङकङमा भर्खरमात्र भित्रिएर बितण्डा मच्चाउँदै थियो |
अर्कोतिर म जसरी पनि दुई दिनभित्र हङकङ भित्रिनु थियो | नत्र म हङकङ पर्मानेन्ट आइडीबाट तल्लोस्तर "राइट टू लेन" लेभलमा झर्नु पर्थ्यो | त्यसैकारण म एकदम हतारमा यात्रा गर्दै थिएँ | कोभिडको सन्त्रास र परिवारसँग टाढिनुको पीडाले यस पटकको यात्रा खल्लो बनाइरह्यो | मानौं म, सन्त्रासको विमान चढेर एक्लै उड्दै थिएँ |
हङकङ सरकारको नियमअनुसार अन्य देशबाट आएर बसोबास गर्ने आइडी होल्डरहरू ३ वर्षभन्दा बढी बाहिर बस्न पाउँदैनन् | र कुनै कारणबस बसिहाले "राइट टू लेन" लेभलमा झारिदिन्छन् | जन्मसिद्ध चाइनिजहरूको हकमा भने यो नियम लागू हुँदैन | उनीहरूको आइडीमा स्टार हुन्छ, त्यही ताराले उनीहरूको पहिचान दिन्छ |
हङकङ सरकारले प्रदान गर्ने आइडी कार्डको प्रकार धेरै खालका हुन्छन् | अन्य देशका बाऊ आमाबाट यहाँ जन्मनेहरूको आइडी भने जन्मदर्ताको आधारले सुरुमै पर्मानेन्ट हुन्छ | तर, उनीहरूले बाऊआमा या श्रीमती स्पोंचार गरेर ल्याउनु परेमा ती व्यक्त्तिहरूले भने पर्मानेन्ट हुन ७ वर्ष पर्खनु पर्ने हुन्छ | त्यसरी ७ वर्षपछि पर्मानेन्ट भएका आइडीहरूको प्रकार र यहीं जन्मेर जन्म दर्ताको आधारमा दिइने आइडी नम्बर अघिको अल्फाबेट्ले फरक पर्छ | अनि घरेलु कामदारहरूको कन्ट्र्याक आइडी अझ फरक हुन्छ । यसरी किसिम किसिमका आइडी बोक्ने विदेशीहरूले भरिभराऊ छ हङकङ |
मलाई त्यसबेलाको यात्राले परको मिठो फल देखाउँदै आफूतिर खिच्दै परिवारसँग टाढा लैजाँदै गरेको महसुस गरें | किनकि म केही वर्ष रिफ्रेस हुन अथवा बेलायतको दिक्क लाग्दो जिन्दगीदेखि भाग्दै थिएँ | हङकङ आइडीलाई निरन्तरता दिन र यहाँ जम्मा हुने अनिवार्य सञ्चय कोषको निम्त्ति आएर केही वर्ष काम गर्ने योजना उहिलेदेखिको हो तर घरायसी व्यवहार र छोराहरू आफ्नो खुट्टामा उभिएपछि जान्छु जान्छु भन्दाभन्दै यतिका वर्ष बितिसकेको थियो |
जहाजमा एकप्रकारको छटपटीले मन पोलिरह्यो | तर पनि आफूलाई संयम बनाएर समय कटाइरहेँ | अन्तत्वागत्वा गत १६ घण्टापश्चात् म ओर्लिएँ हङकङको चर्चित अनि अति व्यस्त विमानस्थल चेप्लाककमा, मान्छे-मान्छे बीच समयचक्रले कोरेको अनौठो सीमारेखा पार गर्दै, गर्दै म नियमपूर्वक खुरुखुरु सबै सुरक्षा जाँच सकेर इमिग्रेसनतर्फ बढें |
कोभिडको कहरले थिचिएको मनले विमान चढेदेखि ओर्लेसम्म अपराधीझैं स्टाफहरूको पूरा, पूरा निगरानीमा हुनुलाई स्वाभाविक नै ठाने | उनीहरूले पनि आफ्नो ड्युटी नै त निभाएका हुन्, आखिर कुरो र कुलो जतै मोडे पनि त हुने रैछ, मैले उनीहरूको व्यवहार देखेर उठेको रिसलाई यसरी सोचेर निभाएँ |
पहिले हङकङ आउँदाको जस्तो, यो पालि पनि म भित्र अनेकौं रहरहरू छट्पटाइरहेका थिए, तर, आफूलाई स्वतन्त्र महसुस नगरेपछि ती रहरहरू डरको घेराबन्दीभित्र कैद राखेँ, किनकि त्यसबेला हङकङ सरकारले एउटा एप प्रयोगमा ल्याएको थियो |
जुन एपले आफूले कोभिडको भ्याक्सिन पूरा लगाएको छ कि छैन भनेर मोबाइलबाट मेसिनमा स्क्यान गर्दा बताउँन्थ्यो र त्यस्ता स्क्यान मेसिनहरू हरेक दोकान, रेस्टुरेन्ट आदिमा हुन्थे | यहाँका जनताले सुरुमा भ्याक्सिन लाउन नमानेपछि त्यो एप प्रयोगमा ल्याइएको हो कि जस्तो पनि लाग्छ | किनकि भ्याक्सिन नलाएका मान्छेले कुनै पनि किनमेल र खान पिउन रेस्टुरेन्टतिर पस्न पाउँदैन्थे | एक्लै हुनुको पीडामाझ चिन्त्ताका अनेकौं विषयहरू टुसाउँदै थिए मनमा | कस्तो कोठा पाउने हो ? कस्तो काम पाउने हो ? आफ्ना सृजनाहरूमाथि निरन्तर काम गर्न पाइने हो कि होइन ? आदि इत्यादि.......
न पूरा हुने, न तुहिने मनमै बसेर बिथोलिरहने यस्ता अनेकौं सपना बोकेर म हङकङ त आइपुगें त्यो पनि १५ वर्ष बाद लामो बस्नेगरी | हङकङ ३ वर्ष पहिले विजयजीसँगै छुट्टीमा इन्ट्री हुन आउँदाको जस्तो रमाइलो लागेन |
त्यहीं बिजयजीसँग अघिल्लोपल्ट आएर फिरेको समयलाई गणना गर्दा म इन्ट्री हुने समय १ दिनमात्र बाँकी थियो | जुन समय सन् २०२२ जुन २ तारिख परेकोले बेलायतबाट जुन १ तारिख उडेर यहाँ दुई तारिख आइपुगेकी थिएँ | हातमा सदाजस्तै टिकट र पासपोर्ट दुवै थिए | तर टिकट एकोहोरो मात्र थियो, फर्किने टिकट थिएन | बिनाकुनै कारण मेरो परिवार बेलायतमै छाडेर म टाढा हुँदै थिएँ |
म निर्दोष थिएँ तर अपराधीझैं महसुस गर्थें परिवार छाडेर हिँड्नु पर्दा | बेलायतमा मास्क लगाउनु नपर्ने नियम आइसके पनि, हङकङमा मास्क अनिवार्य थियो | नेपाली उखान 'नजिकको इष्ट हेला' भनेझैं चाइनामा सबभन्दा पहिले उत्पति भएर तहल्का मच्चाइसकेको कोरोनाले संसार डुलेर नजिकको ठाउँ हङकङमा बल्ल फिर्दै थियो |
कोभिडकालमा हङकङ सरकारले सुरुमा लगाएको नियमहरू निक्कै कडा थिए, हङकङ बाहिरबाट आउने आगन्तुकहरूले २१ दिन पूरै होटलमा क्वारेन्टिन बस्नु पर्थ्यो | म पनि त्यो २१ दिने होटल क्वारेन्टिन घटेपछि मात्र आउने भन्दै बस्दा बस्दा हङकङ इन्ट्री हुन झन्डै ढिला भैसकेको थियो |
सन् २००७ मा युके बसाइँ सरे पनि हरेक तीन-तीन वर्ष पुग्ने बेला इन्ट्री गर्दै आइरहेका थियौं | कारण हामीले पाइसकेको हङकङ पर्मानेन्ट आइडी कार्ड गुमाउन चाहँदैन्थ्यौ | हुन त राइट टू लेन्ड आइडीले यहाँ भोट लाउने, उम्मेदवारी दिने र सरकारी जागिर खाने जस्ता अधिकारमात्र नदिएर अरु सबै सेवा सुविधा त दिने नै रहेछ त्यो पछि बुझ्दा थाहा भयो | अर्को एउटा सजिलो नियम आइडी राइट टू लेन भैसकेपछि हरेक ३, ३ वर्षमा इन्ट्री हुन नपर्ने रहेछ |
म आउने समयमा कोभिडका केही नियमहरू सरकारले खुकुलो बनाएको थियो | तर पनि हङकङ ओर्लिएपछिको सात दिने होटल क्वारेन्टिनको दिक्दारी भने छँदै थियो | सोहीअनुसार मैले पनि चिङ्गिको एउटा होटलमा हङकङ निवासी भाइ लोक आङबुहाङमार्फत बुक गराएकी थिएँ | मान्छे, मान्छे बीचको दुरी नाप्दै १६ घण्टा लाएर हङकङ पुगेकी मलाई त्यसबेला विमानस्थल ओर्लेपछिको झमेला र अनेक द्वारहरूमा सुरक्षा जाँच, कोरोना परीक्षण आदिले घन्टौं लागेको थियो बाहिर निस्कन |
जन्मकैदको सजाय भोगिरहेका अपराधीझैं व्यवहार गर्थे मान्छेले, पब्लिक बस या रेलमा हिँड्दा अलिकति हाँछ्यूं गर्दा या खोक्दा छेउमै बसेको मान्छे उठेर पर भाग्ने गरेको अनुभव त कति हो कति | होटल छिर्नुअघि अपराधीलाई जस्तो बडीगार्ड पुलिस आदिले अनेक जाँच गरेपछि बल्लतल्ल छिर्न दिन्थे | होटलका स्टाफ छेउ आउन डराएर पर उभिएर निर्देशन गर्थे | एकदिनको कुरो सम्भवत: त्यो मेरो होटल बसाइको पहिलो बिहानी थियो | कसैले मेरो धोका नक् गरेको सुनेर हतार ढोका खोल्दा मास्क लाउन भुलेछु, स्टाफले पर उभिएर पहिले मास्क लगा भन्यो | मैले सरी भन्दै मास्क लगाएँ |
त्यसपछि मैले पालना गर्नुपर्ने केही महत्वपूर्ण कुरोहरू सुनाएर एउटा कागज मेरो ढोकानिर फालेर गई | उक्त्त कागजभरि बुँदागत रुपले लेखिएका नियमहरूलाई जतन गरी बोकेर भुइंमा पल्टिरहेथ्यो कागजको टुक्रा | त्यो कागज त निर्जीव थियो तर म सजिवलाई भने खुब आफ्नो माया लागेर आयो |
ती सम्झनै मन नलाग्ने सम्झनाहरू मनभरि खाँदी राखेर खोई कता गयो कोरोना अचेल ? कहिलेकहीं सम्झन्छु त्यो एकदम त्रसित समयमा जन्मने नानीहरूलाई आमाबाबा र आफन्तले के नाम राखिदिए होलान् ? म भए छोरीको 'कोरोना र छोराको कोभिड' राखिदिने थिएँ | यी सम्झन मन नलाग्ने विषयहरू पनि वर्षौंपछि सम्झिँदा मज्जै लाग्दोरहेछ, र त सम्झिरहन्छु सायद ! हरेक सालको जुन महिना युके छाडेको दिन अनि जुन दुई तारिख हङकङ आइपुगेर अपराधीझैं होटल प्रवेश गरेको दिन
| मैले माथि लेख्दा लेख्दै एउटा कुरो छुटाएछु अहिले याद आयो ! म पनि जुन दुईमा हङकङ इन्ट्री नभएको भए "राइट टू लेन्ड" मा झर्थ्यो मेरो आइडी | यसरी सम्झन मन नलाग्ने विषयहरूले पनि जीवन परिवर्तनहेतू महत्वपूर्ण रोल खेलेको हुँदा रैछन् |
आज उहीं दिनहरू तुङ्ग्चुङ्गको एउटा स्टेट मुन्तुङ्गमा बसेर सम्झँदै छु, जहाँ म काम गर्छु | अचेल सुन्छु म यसरी हङकङ आएर बस्नुको अनेक कारण निकाल्छन् रे चिनजानका मान्छेहरू, यो मान्छेमा हुनुपर्ने एउटा स्वतन्त्र गुण हो । उनीहरूले सोच्न पाउँछन् |
म ती कुरोहरूमा चासो लिन जरुरी ठान्दिनँ | म एउटी संघर्षरत नारी हुँ र संघर्ष गरिरहेछु, मेरो यो संघर्षलाई परिवारले कदर गर्नेछन् र गरिरहेका पनि छन् | उहिले आमा बोजुहरूले श्रीमान्सँग भौतिक रुपले टाढा रहेर पनि सृष्टि बचाएकै थिए | अहिले मैले पनि त्यही गरिरहेकी छु । फरक यति हो त्यो बेला बाजे बाऊहरू पल्टन जान्थे, अहिले म गएँ फरक त्यति न हो |
भौतिक रुपले टाढा रहनु परिवार सँग छुट्नु होइन | मन नजिक भए भौतिक दूरीले अलग बनाउँदैन, दूरी र फाटो ल्याउने त मन हो | मन नभए सँगै बसेर पनि टाढा भइन्छ |
ताप्लेजुङ, हाल हङकङ |