लन्डन । गोरखाली समाज युकेको यही २० जुलाईमा हुने बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रममा प्रस्तुति दिन चर्चित लोक तथा दोहोरी गायक रविन लामिछाने र गायिका रेजिना परियार बेलायत आइपुगेका छन् ।
गोरखाली समाज युकेको निमन्त्रणामा कलाकारद्वय रविन र रेजिना बुधबार लन्डनको हिथ्रो एयरपोर्टमा ओर्लिएको समाजका अध्यक्ष हेमकुमार गुरुङले जानकारी दिए । उनीहरुको स्वागतमा अध्यक्ष हेमकुमार, महासचिव गौतम गुरूङ, उपाध्यक्ष टकमाया गुरूङ, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू गणेश गुरूङ, राजकुमार गुरुङ, पूर्वअध्यक्ष कर्ण दर्लामीमगर साथै गोरखालीहरू हिथ्रोमा पुगेका थिए ।
गोरखाली समाजको कार्यक्रम फानबोरोस्थित सामुयल कोडी स्कुलमा शनिबार हुँदैछ । कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ देखि राति ११ बजेसम्म हुनेछ । कार्यक्रममा नायिका तथा डान्सर लक्ष्मी गुरुङको समेत विशेष प्रस्तुति रहने छ । उनी यसअघि नै बेलायत आइसकेकी छन् ।
अध्यक्ष हेमकुमार गुरुङले उक्त ऐतिहासिक कार्यक्रममा सहभागी हुने गोरखाली समाज युकेका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरु, ट्रस्टिजहरू, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरू तथा सम्पूर्ण बेलायतवासी नेपालीलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा उपस्थितिका लागि एडल्टलाई २५ पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १० पाउन्ड र पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई नि:शुल्क प्रवेश दिइनेछ । साथै कार्यक्रम सफल बनाउन उपस्थिति सँगसँगै संस्थालाई आर्थिकलगायत विभिन्न सहयोग गरी साथ दिन पनि गोरखाली समाज युके कार्यसमिति परिवार विशेष अनुरोध गरेको छ ।