लन्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले यही २८ जुलाई २०२४ मा आयोजना गर्ने फायर वक तथा सांस्कृतिक कार्यक्रममा चर्चित गायक मिलन लामा आउने बेलायत आउने भएका छन् ।
ह्यारोस्थित ब्ल्यू रुम स्पोर्ट्समा हुने कार्यक्रमका लागि गायक लामा आउने निश्चित भएको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिएका छन् । गायक मिलनले पनि आफू लामो समयको अन्तरालपछि युके आउने लागेकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद र बेलायतवासी नेपालीलाई निमन्त्रणा भनेका छन् । 'यसपाली युके आउने मेसो मिल्दैछ । गाउँलेहरुलाई धेरै धेरै धन्यवाद छ । चितवन एड ट्रस्ट (क्याट युके) को आयोजनामा यही जुलाई २८ तारिखमा सांस्कृतिक कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा म आउने भएको छु ।आयोजना गाउँलेहरुले गरेको भए पनि आउनचाहिँ सबैजना मिल्छ । मेरो लागि यो पार्टी, त्यो पार्टी भन्ने छैन । यो भेग, उ भेग भन्ने छैन । यो जाति, उ जाति छैन । आउनुस्,' उनले फेसबुकमा लेखेका छन् ।
छोटो जिन्दगीमा रम्न र रमाउनुपर्ने भन्दै गायक लामाले २८ जुलाईको दिन भेट्ने वाचासमेत गरेका छन् । 'धेरै वर्षपछि युके आउँदैछु । दुई दिनको जिन्दगी । कृपया जुलाईको २८ नभुल्नु होला,' उनको आग्रह छ, 'त्यो बेलामा मेरा पुराना, नयाँ गीत, सबै गाउँला । माझी दाइ पोखरा फेवातालको देखि हङकङ आईडीले, ए घरमा पराल बारीमा बन्छो, बेसारेको लगायत थुप्रै गीतहरु गाउनेछु यहाँहरुको अफरअनुसार । भेटौंला युकेमा ।'
सांस्कृतिक कार्यक्रममा गायक राजन गुरुङ, नृत्यांगना अस्मिता रानामगरले समेत प्रस्तुति दिनेछन् । यस्तै शुभ ब्यान्डको पनि प्रस्तुति रहने छ ।
क्याट युके २० वर्ष पुगेको अवसरमा ‘गरिब तथा जेहेनदार विद्यार्थी अक्षय कोष’लाई बढाउन च्यारिटी नाइट तथा ‘मोटिभेसनल र उद्यमशीलता’ कार्यक्रम आयोजना गर्न लागिएको हो । मोटिभेसनल स्पिकर इन्द्र गुरुङले सहजीकरण गर्ने आयोजकले जनाएको छ । संस्थाले स्थापना गरेको उक्त कोषमा हाल ६० लाख रुपैयाँ रहेको छ । उक्त च्यारिटी नाइट तथा कार्यक्रमबाट एक करोड पुर्याउने लक्ष्य रहेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
क्याटले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । बेलायतमा बस्ने चितवनेलीहरूको साझा संस्थाका रूपमा सन् २००४ मा क्याट युकेको स्थापना भएको हो । चितवनको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मुख्य लक्ष्यसहित स्थापना भएको संस्थाले यसअघि जिल्लाका दुर्गम गाउँमा एम्बुलेन्स प्रदान, स्कुल तथा स्वास्थ्यचौकी निर्माण, भरतपुरमा ब्लड बैंक स्थापनालगायतमा सहयोग गरेको छ ।