लन्डन । सांगीतिक प्रस्तुतिका लागि बेलायत भ्रमणमा रहेकी कलाकार सानी मुना थापाको बिदाइ गरिएको छ । केही दिनमा नै नेपाल फर्किन लागेकी थापाको आइतबार साँझ फार्नबोरोस्थित गोर्खा भवनमा एक कार्यक्रमबीच बिदाइ गरिएको छ।
मगर संघ युके युनाइटेड हेम्पसेयर सर्रे बर्कसेयर (यूएचएसबी) शाखाको निमन्त्रणामा उनी गत जनवरीमा माघे सङ्क्रान्ति कार्यक्रममा बेलायत आएकी थिइन् । सानी कलाकार थापाले माघे सङ्क्रान्तिलगायत अन्य विभिन्न कार्यक्रममा आफ्नो संगीतिक प्रस्तुति दिएर बेलायतवासी नेपालीको मन जित्न सफल भएकी छन् ।
शाखाका अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिर बलालले स्वागत मन्तव्य राखेका थिए । उनले भावुक हुँदै कलाकार थापाको बेलायत यात्राबारे स्मरण गरे ।
सचिव गणेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष सुनिल रानाले कलाकार थापाको कलाको प्रशंसा गरे । नेपालका प्रतिभाशाली कलाकारलाई बेलायत ल्याउन सफल अध्यक्ष एवं कार्य समितिलाई उनले धन्यवाद दिएका थिए । पूर्वअध्यक्ष ताम ढेंगा, महिला समितिका सल्लाहकार नरमती पुन, सल्लाहकार छविमाया पुन र गोमा रानाले शाखाको कामको प्रशंसा गरे ।
कलाकार थापालाई ६ महिनासम्म बेलायतमा छोरीसरह सहयोग गर्ने जगमाया सुनुवारलाई पनि सम्मान गरिएको थियो । सुनुवारलाई शाखाका निवर्तमान अध्यक्ष श्रीमती हेमा राना र वर्तमान महिला समितिका अध्यक्ष धना रोकाले दोसल्ला ओढाएर तथा शाखा अध्यक्ष रानाले फुलको गुच्छा र उपहारसहित धन्यवाद दिए ।
कलाकार थापाले बेलायतमा रहेका नेपालीबाट व्यस्त समयको बाबजुद पनि आफूले माया पाएको बताइन् । कलाकारलाई दिने सम्मान र आदरले ऊर्जा हौसला मिलेको भन्दै उनले खुशी व्यक्त गरिन्।
अन्त्यमा अध्यक्ष रानाले उपस्थित सबैलाई धन्यवाद दिँदै मुना थापाको सांगीतिक यात्रामा उत्तरोत्तर प्रगतिको कामना गरे ।