लन्डन । मंगोलियन हार्ट ब्यान्डका लोकप्रिय गायक राजु लामाको सांगीतिक प्रस्तुतिमा बेलायतका दर्शक झुमेका छन् ।
मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउन्डमा आयोजित नेप्लिज ओपन कन्सर्टमा उपस्थित दर्शकलाई लामाले आफ्ना एक दर्जन गीत गाएर मनोरन्जन दिए ।
मेरो नेपाल बोलको गीतको गीत गाउँदै नेपाली राष्ट्रिय झण्डा बोकेर स्टेज चढेका गायक लामाले करिब दुई घण्टा गाएका थिए । तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ, सायद तिम्रो बाटोमा, बिस्तारै बिस्तारै, बादल पारिको देशबाट, हरियो भन्नु, सुम्निमा, नतानु त तानु लाग्नेलगायत गीत गाएका थिए । लामालाई बेलायतको स्थानीय सिक्का ब्यान्डले लाइभ म्युजिकमा साथ दिएको थियो ।
लामाले गाउनुअघि सिक्का ब्यान्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका अन्य कलाकारहरू नेशन पुन, यज्ञ विके, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएका थिए। मगर गट ट्यालेन्ट २०२४ की विजेता रुबिया थापा, मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
औपचारिक कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेकी थिइन्। यस्तै, स्थानीय मेडिस्टोन काउन्सिलका मेयर, गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, मगर संघ युकेका संरक्षक घनबहादुर थापा, पूर्व अध्यक्षहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै, गाउँदै, नाच्दै स्टेजमा लगिएको थियो ।
अध्यक्ष सीता पुनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव गुमानसिंह थापाले गरेका थिए । सांस्कृतिक संयोजक सरू राना गुरुङले सांस्कृतिक कार्यक्रम चलाउन मिस युके नेपाल सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजालाई दिएकी थिइन् ।
प्रतिकूल मौसमका बावजूद पनि दर्शक कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुतिमा नाचेका थिए ।