पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कास्की विजेता बनेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । जसमा कास्कीका सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान गुरुङले गोल गरे । राजकुमार कुँवरको प्रहार भने बाहिरिएको थियो ।
तनहुँका दीपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङले गोल गर्दा देव गुरुङको प्रहार बाहिरिएको थियो । सजिन थापाको प्रहारलाई कास्कीका गोलकिपर आकाश रानाभाटले बचाए ।
प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल संघको संयुक्त आयोजनामा जेठ २५ देखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ बाहेक १० जिल्लाको प्रतिनिधित्व थियो ।
उपाधि विजेता कास्कीले नगद दुई लाख र ट्रफी तथा उपविजेता तनहुँले एक लाख नगद पुरस्कार पाए ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका शान्तबहादुर गुरुङ घोषित भए । उनले नग १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी हुँदै जनही नगद पाँच हजार पाए ।
प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ, एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।