लन्डन । गोरखा जिल्ला गुरुङ समाज युकेले गायक नेपालबाट आएका गायक सविन गुरुङ र गायिका निर्जला गुरुङलाई बिदाइ गरेको छ ।
अल्डरसटस्थित ठमेल दोहोरी साँझमा मंगलबार एक समारोह आयोजना गरी कलाकारद्वर सविन र निर्जलाको बिदाइ गरिएको हो । कार्यक्रममा गोरखा जिल्ला गुरुङ समाज युकेका पदाधिकारी, सदस्य, शुभचिन्तक, शुभेच्छुकहरुको उपस्थिति थियो । नेपालबाट आएका चर्चित गायिका मनमाया वाइबा, नायिका तथा मोडल लक्ष्मी गुरुङसमेत उपस्थित थिए ।
सविन र निर्जला गोरखा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणामा गत २२ डिसेम्बर २०२३ (पुस ६ गते) बेलायत आएका थिए । यहाँ विभिन्न संस्था र व्यक्तिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सविन मौलिक गीत र लोकदोहोरी क्षेत्रमा परिचित छन् । गोरखामा जन्मिएका सविन उद्घोषण कला पनि भएका व्यक्ति हुन् । पछिल्लो पुस्तामा लाइभ दोहोरीबाट चिनिएकी छिन् निर्जला ।
बिदाइ कार्यक्रममा आफूहरुको निमन्त्रणा र आमन्त्रणलाई स्वीकार गरेर सहभागी संघ, संस्थाका अध्यक्ष प्रतिनिधि र विभिन्न व्यक्तित्व आफन्तजन, ईष्टमित्र,साथी भाइहरु सबैले सहयोग गरेको भन्दै कलाकार सविनले धन्यवाद दिए । उनले ६ महिना बेलायत बसाइमा आफूहरुबाट संस्थाको गरिमा र व्यक्तिको प्रतिष्ठामा आँच आउने काम र कमीकमजोरीहरु भएको भए क्षमा गरिदिन आग्रहसमेत गरे ।
गायिका निर्जलाले भनिन्, 'हाम्रो बिदाइ कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभई हामीलाई शुभकामना, शुभेच्छा, आशीर्वाद प्रदान गर्नुहुने विभिन्न संघ संस्था,आफन्तजन, ईष्टमित्र, वरिष्ठ विशिष्ट व्यक्तित्व सम्पूर्णलाई हार्दिक आभार । तपाईंहरुको यस्तै माया सधैंभरि यसैगरी पाईरहुँ !!!'
कार्यक्रममा कलाकारद्वयले लाइभ दोहोरीलगायत सांगीतिक धमाका मच्चाएका थिए ।
आयोजक र उपस्थितले नगद, उपहार, मायाको चिनोलगायत कलाकारद्वयलाई प्रदान गरेका थिए ।