लन्डन । नृत्य निर्देशक, नृत्य प्रशिक्षक तथा गायिका कविता घर्तीमगर गुरुङलाई तमु धीं युकेले सम्मान गरेको छ । यही मे २६ तारिखमा आयोजित २२ औं गोर्खा कपको अवसरमा कोरियोग्राफरसमेत रहेकी कवितालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले 'स्टार सपोर्ट अवार्ड' प्रदान गरेका हुन् ।
नेपालको सल्यान जिल्लाकी कविता सयपत्री नेपाली कल्चरल ग्रुप युकेकी संस्थापक सदस्य तथा ट्रस्टी हुन् । उनी एनएचएस इंग्ल्यान्डमा कार्डियोग्राफरका रुपमा समेत कार्यरत छिन् । सम्मानित भएपछि उनले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको बताएकी छन् । 'हजारौं दर्शकसामु तमु धीं युकेले दिएको यो सम्मानले मलाई निःशब्द बनायो ! मसँग शब्द छैन कसरी ज्यक्त गरूँ । मलाई लाग्थ्यो, मेरो विधा हो मैले गर्नुपर्छ भन्ने ! बेला बेलामा यी सबैबाट टाढा रहन खोज्ने मेरो मन मस्तिस्कमा तमु धींले दिएको सरप्राइजले अझै जिम्मेवारी थपिएको महसुस भएको छ,' उनले फेसबुकमा लेखेकी छिन् ।
उनले आफूलाई योग्य ठानेर सम्मान प्रदान गरेकोमा तमु धींका अध्यक्ष हरि गुरूङ, सांस्कृतिक सचिव साधुराम गुरूङलगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिएकी छन् ।
कविताले सल्यान जिल्लादेखि राष्ट्रियस्तरीय प्रतियोगीताहरूमा भाग लिने क्रममा धेरै सफलताहरू हात परेकी छन् । सल्यान जिल्लामा हुने प्रतियोगिताहरूमा ६,७ कक्षा पढ्दादेखि नै उनले प्रतियोगिता लगायत अरू कार्यक्रमहरूका लागि नृत्य सिकाउँदा दोस्रो कहिल्यै भइनन् ।
वि.सं. २०४४/०४५ सालतिर स्काउटबाट २० जनाभन्दा माथिको ग्रुप नृत्य लिएर काठमाडौं पुगेकी थिइन् । कविता ८ कक्षामा पढ्दैगर्दा सिकाएको २० जनाको सामूहिक नृत्य दोस्रो भएको स्मरण गरिन् । त्यसपछि पद्मकन्या क्याम्पस बागबजारबाट नृत्य र गायन विधामा प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरिन् । राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) बाट नृत्यमा एक वर्षे प्रशिक्षण पूरा गरेपछि विभिन्न स्कुलहरुमा नृत्य सिकाउँदै गर्दा उनी बेलायत आउने अवसरका कारण थप सिकाइमा ब्रेक लागेको उनी बताउँछिन् ।
बेलायतमा सयपत्री नेपाली कल्चरल ग्रुप स्थापना भएपछि बालबालिकालाई नृत्य सिकाउने आफ्नो इच्छा केहीहदसम्म पूरा भएको उनको भनाइ छ ।