काठमाडौं । अभिनेता अनमोल केसीले प्रदर्शोन्मुख फिल्म फर्की फर्की हलिउड फिल्मबाट कपी गरिएको कुरालाई खण्डन गरेका छन् । 'टाइम लुप जनरा'मा हलिउडमा थुप्रै फिल्महरु बनेको भए पनि फर्की फर्की कहींकतैबाट कपी गरेको 'कन्टेन्ट' नभएको उनको दाबी छ ।
'म दर्शकहरुलाई यतिसम्म विश्वस्त गराउन चाहन्छु कि फर्की फर्की फिल्म कतैबाट कपी गरेर बनाइएको रैछ भने मेरो आगामी फिल्महरु नै हजुरहरुले नहेर्नुहोला,' अनमोलले भने, 'फिल्मले परिवार, साथीभाइ र प्रेमी प्रेमिकाबीचको विविध आयामहरुलाई प्रस्तुत गरेको छ । तर जनराको हिसाबले दर्शकहरुले यो फिल्ममा गज्जबको अनुभूति गर्नुहुनेछ ।'
फिल्मको प्रचार सामग्रीले पाएको हाइपबाट अनमोलसँगै पूरै निर्माण यूनिट दर्शकको साथ पाउनेमा ढुक्क छन् । वर्ष २०८० अनमोलको लागि राम्रो रहेन । वर्ष २०८० मा उनी एउटा फिल्मकै कारण प्रहरी कष्टडीमा समेत पुग्न परेको थियो । त्यस्तै उनको ९ औं फिल्म छड्के २ पनि उनको जीवनकालकै सबैभन्दा ठुलो फ्लप रह्यो । त्यसकारण पनि अनमोल फर्की फर्कीलाई लिएर प्रेसरमा देखिन्छन् । 'मैले मेरा गल्तीहरुबाटै सिक्ने हो । असफलताले मलाई अझै बढी राम्रो काम गर्न जिम्मेवार बनाएको छ । र, म यो फिल्मबाट मेरा भगवानरुपी दर्शकहरुलाई सन्तुष्ट बनाउने नै छु,' उनले भने, 'यो फिल्ममा सबै हिसाबले खारिएको र सुधारिएको अनमोल केसीलाई दर्शकहरुले पाउनुहुनेछ ।'
अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।
अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । र, सार्वजनिक पोस्टर लगाएतका प्रचार सामाग्रीहरुमा अनमोल जसिताको जोडीलाई दर्शकले रुचाएका छन् । अझै कतिपय उनका फ्यानहरुले सामाजिक संजालमा यो जोडीलाई लिएर ह्यासट्याग जसमोल क्याम्पेन शुरु समेत गरेका छन् । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
रेडिंग बौद्ध गुम्बामा आनीलाई भव्य स्वागत
लन्डन - रेडिंग उडलीस्थित बौद्ध गुम्बामा चर्चित गायिका तथा समाजसेवी आनी छोइंगलाई भव्य स्वागत गरिएको छ ।
गत आइतबार अपरान्ह आयोजित कार्यक्रममा गुम्बाका पदाधिकारीहरुले हार्दिक स्वागत गरे।
गुम्बाका अध्यक्ष खेम गुरुङले गुम्बाले स्थानीय समुदायको हितमा गरेका कामहरुबारे जानकारी गराए। उनले सन् २०१९ मा उक्त गुम्बाको निर्माणको लागि एउटा सांगीतिक कार्यक्रम गरेर सहयोग जुटाइ दिएकोमा उनले आनी छोइंगप्रति हार्दिक आभार व्यक्त गरे।
आफ्नो मन्तव्यमा आनीले खुसी भएर जीवन जिउने कलाबारे चर्चा गरिन्।
कार्यक्रमको संचालन सचिव उषा गुरुङले गरेकी थिइन् भने आमा समूहकी अध्यक्ष रजनी गुरुङले सहभागी सबैलाई धन्यवाद दिइन्।
नेपाली दूतावासमा अन्तरक्रिया
आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै समाजसेवी आनी छोइंगले मानिसहरु अहिले पैसा, पद र प्रतिष्ठाको पछाडी दौडी रहेको तर मनमा शान्ति भने पाउन नसकेको बताइन्। अहिले मानिसहरुमा डिप्रेशन, एक्लोपन जस्ता समस्या देखिएको भन्दै आनीले करुणाको अभावले नै त्यस्तो समस्या देखिएको बताइन्। 'करुणाको भावले स्वास्थ्यमा सुधार ल्याउंछ र मनस्थिति सन्तुलित तुल्याउँछ,' उनले भनिन्।
सेवा र सत्कर्मबाट असहाय सडक आश्रित मानिसहरुको सेवा र स्याहार गर्ने संस्था मानव सेवा आश्रमको भवन बनाउन सहयोग जुटाउन हाल बेलायतको भ्रमणमा रहेकी आनी छोइङ्गले मानव सेवा आश्रम सेवा, सद्भाव र करुणाले भरिपूर्ण मन्दिर भएको बताइन्। "त्यहाँ स्वयंसेवी सबै युवा हुनु हुन्छ। उहाँहरुको सेवाभाव बाट म अत्यन्तै प्रभावित भएँ। मानव सेवा आश्रमसंग जोडिन पाउँदा म साह्रै खुसी छु," उनले भनिन्।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आउँदो दुइ वर्ष (वि सं २०८२) भित्र 'सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल' घोषणा गर्न आफु हरुले अनवरत काम गरि रहेको बताए। उनले २०६९ भाद्र १२ गते स्थापित मानव सेवा आश्रमले अहिले सम्म १० हजार जना भन्दा बढी बाबाआमाको उद्धार गरिसकेको बताए। उनले अहिले सातै प्रदेशका १९ जिल्लामा रहेका २४ ओटा सेवा केन्द्रहरुमा झन्डै १७०० बाबा आमा र बाबु नानीहरुलाई खाना, नाना, छाना र बालबालिकाको लागि पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सामाजिक सेवाको भावना जगाउन मानव सेवा आश्रमले थालेको अभियान उदाहरणीय रहेको बताए। उनले यस्तो अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे। "करुणा र दया हाम्रो पूर्वीय दर्शनको संदेश हो। सर्वप्रथम सडकमा जाने अवस्था रोक्न पनि हामीले काम गर्नु प यो," राजदूत आचार्यले भने। उनले २०८२ मा सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको अभियान सफल होस् भन्ने शुभकामना पनि दिए।
मानव सेवा आश्रम युकेका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत व्यक्त गरेको अन्तरक्रियाको संचालन लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन्।
आनी छोइंगले गत साता नेपालमा मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित एक भव्य सांगीतिक समारोहमा प्रस्तुती दिएकी थिइन्।