लन्डन । पञ्चासे हर्पनडाँडा समाज युकेले क्यान्सरपीडित नुना गुरुङलाई ३ लाख ८४ हजार २२० रुपैयाँ सहयोग गरेको छ ।
पुर्खौली घर कुद्बी डाँडागाउँ भएको नुना रुपन्देहीको तिलोत्तमा नगरपालिका- ७ खमेरा बजार बस्दै आएकी थिइन् । उनी ५ वर्षदेखि क्यान्सरबाट पीडित छिन् । आर्थिक अवस्था नाजुक बनेपछि श्रीमान् गौप्रसाद गुरुङले युकेको पुर्खौली गाउँले समाजलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेका थिए ।
हाल उनीहरू पोखरामा बसिरहेका छन्। पञ्चासे हर्पनडाँडा समाज युकेका सदस्य सुकबहादुर गुरुङ र श्रीमती मनदेवी गुरुङ घर बिदामा गएको अवसर पारेर बेलायतमा संकलित रकम पीडितकै निवासमा गएर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा युवा समाजसेवी तथा प्याराग्लाइडिङ पाइलट सबिन गुरुङ, पिडितका २ छोरी र श्रीमान् उपस्थित थिए। सहयोग प्राप्त गरेपछि पीडित नुनाले युकेको गाउँले समाजप्रति कृतज्ञता व्यक्त गरिन् ।
पञ्चासे हर्पनडाँडा समाज युकेले गाउँघरमा आपतविपत परेकाहरूलाई निरन्तर सहयोग गरिरहेको छ। गत जनवरीमा एउटा खुट्टा गुमाएका यामबहादुर गुरुङलाई ९ लाख ४२ हजार सहयोग गरेको थियो।
मिर्गौलापीडित सरस्वती पराजुलीलाई २ लाख ४ हजार सहयोग गरेको छ। हालै मात्र मानव सेवा आश्रम नेपाललाई पनि १ लाख ११ हजार १११ सहयोग गरेको थियो ।
पोखरादेखि पश्चिममा पर्ने ४ गाउँ (सिधाने, कुद्बिडाँडा, दम्दमे र मकनपुर) मिलेर २०१२ सालमा खडा भएको समाजले हालसम्म १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको कोषाध्यक्ष कृष्ण घलेले बताए।
सबै मनकारी दाताहरूलाई अध्यक्ष देउकाजी गुरुङले धन्यवाद व्यक्त गरेका छन्।