लन्डन । मानवसेवा आश्रम बेलायत शाखाले आयोजना गरेको सांगीतिक कार्यक्रम मे ५ तारिख फ्रेम्लीको लेकसाइड कन्ट्री क्लबमा सम्पन्न भयो ।
करिब एक हजार ५०० दर्शक सहभागी रहेको कार्यक्रममा गायिका आनी छोउङ डोल्माको एकल प्रस्तुति रहेको थियो । ‘इनर मेलोडी फर इनर पिस लाइभ इन कन्सर्ट युके’ नाम दिएको कार्यक्रम मानवसेवा आश्रम नेपालको आर्थिक सहयोगका लागि गरिएको थियो ।
सो अवसरमा युके च्यापटरका संयोजक सुनिलबाबु खड्का र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले छोटो मन्तव्य राखेका थिए । र, मानवसेवा आश्रम बेलायत शाखाका सचिव यादव श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । मानवसेवा आश्रम नेपालका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीको मनै पगाल्ने नरम बोली र तीन मिनेटको दर्दनाक भिडियोले दर्शक स्तब्ध भएका थिए ।
सुरुआती औपचारिक कार्यक्रम नेपालबाट लन्डन आएका मानसेवा आश्रमका महासचिव सुशीला केसी र प्रवक्ता सुमन बर्तौलाले सञ्चालन गरेका थिए। रामजीले युकेवासी नेपालीलाई पुण्य काममा सहभागी हुन अनुरोध गरेका थिए । आनीको सांगीतिक टोलीमा नेपालका प्रसिद्ध म्युजिसियनहरु ड्रमर सुन्दर महर्जन, सारंगीमा प्रिन्स नेपाली, गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित थिए ।
झन्डै तीन घण्टा आनीले हललाई मन्त्रमुग्ध पारेकी थिइन् । मिठो नेपाली र अंग्रेजी बोलीले विदेशी पाहुनालाई पनि समेटिएको देखियो । प्रत्येक गीतको भाव अंग्रेजीमा पनि भनेकी थिइन् ।
‘मानव र प्राणी जगतमा माया र करुणाको भावले बाँच्नुपर्छ। वैरभाव गर्नु हुँदैन । म साह्रै भाग्यमानी छु । सद्गुरुको शरण मिलेको छ । भगवान् बाहिरी रूपमा छ जस्तो लाग्दैन । सानैदेखि बाहिरकै चिज हेर्ने भएकाले मन त्यतैतिर लत्तिएको हुन्छ । लत परेको हुन्छ । सद्गुरुको शरण र अध्यात्ममा लाग्दा त्यो लतबाट छुटकारा मिल्ने उपाय धेरै मिल्दो रहेछ,’ आनीले बीचबीचमा बोलेका वचन थिए ।
उनले करिब एक दर्जन गीत प्रस्तुत गरिन् । सबैको मन मस्तिष्कमा पसेको ‘फूलको आँखामा फूले संसार’ आनी सँगै सबैले गाए । अन्त्यमा ‘ओम शान्ति ओम’ गाउँदा आनीले सबैलाई आ–आफ्नो मोबाइलको बत्ती बाल्ने अनुरोध गर्दै सँगै गाउन अनुरोध गरेकी थिइन् । त्यो दृश्य झनै हेर्न लायकको थियो।
आनीले आयोजक, आफ्नो सांगीतिक टिम, स्यमंसेवक, साउन्ड सिस्टम टिम र दर्शकलाई धन्यवाद दिँदै पुण्य काममा सहभागी हुन अनुरोध गरिन् ।
कार्यक्रममा बेलायतका विशिष्ट व्यक्ति, संघसंस्थाका अगुवा, पत्रकार र ओशो सन्यासीको बाक्लो उपस्थिति रहेको थियो ।