लन्डन । बेलायतको केन्टमा आगामी जुन १५ मा ‘१६औँ नेपाली ओपन कन्सर्ट’ हुने भएको छ । मगर संघ युकेको आयोजनामा ‘म्युजिक फर युनिटी’ भन्ने नारासहित कन्सर्ट आयोजना हुने भएको हो ।
संघले आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्टको मेडिस्टोनस्थित केन्ट इभेन्ट गार्डनको शो ग्राउन्डमा कन्सर्ट आयोजना हुने जानकारी गराएको हो । संघकी अध्यक्ष सीता पुन मगरले कन्सर्टमा सहभागी हुन बेलायतस्थित सबै नेपालीलाई आव्हान गरिन् । यस कन्सर्ट बेलायतवासी नेपालीलाई एक ठाउँमा ल्याउने र एकताको सूत्रमा बाँध्ने अवसर बन्ने उनको अपेक्षा थियो ।
कन्सर्टमा ख्यातिप्राप्त गायक राजु लामासहित बेलायतस्थित सिक्का ब्यान्ड, मगर गट ट्यालेन्ट युके विजेता रुविया थापा मगर र लोकदोहोरी कलाकारसमेतको प्रस्तुति रहने छ ।
संघका अनुसार कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीलगायत ४० बढी स्टल रहनेछन्। चार हजार बढी दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि तथा बेलायतवासी नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि विशेष अतिथि रहनेछन् ।
मध्यान्ह १२ बजे सुरु हुने कन्सर्ट राती ११ बजेसम्म सञ्चालन हुनेछ। कन्सर्टका लागि टिकट अनलाइनबाट पनि लिन सकिनेछ । अनलाइनमा अग्रिम खरिद गर्दा कन्सर्टको टिकट शुल्क ३० पाउन्ड छ। ६५ वर्षमाथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउन्ड तोकिएको छ। अनलाइनमा बिक्री हुने पहिलो एक हजार टिकट भने १० प्रतिशत छुटसहित २७ पाउन्डमा उपलब्ध गराइएको छ। कन्सर्टस्थलमा लिनेलाई ४० पाउन्ड लाग्नेछ।
संघ अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए । कन्सर्टका प्रमुख संयोजक एवं संघका उपाध्यक्ष होम रोकाले हालसम्मको तयारीबारे अपडेट गराए । उनका अनुसार तयारीका लागि मगर संघका १२ वटा शाखा, मगर महिला र मगर संघ युकेका युथ टिम लागिपरेका छन् ।
अध्यक्ष, उपाध्यक्ष र महासचिवका साथै संघका सचिव गोमान पुन, मिडिया सेक्रेटरी किशोर राना, सांस्कृतिक सेक्रेटरी सरु राना, केन्ट शाखा अध्यक्ष नानीनाबु मगरलगायतले पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।
मगर संघ युकेले सन् २००७ देखि नै बर्सेनि नेपालबाट कलाकार झिकाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ। विगतका वर्षमा बेजिङस्टोकमा हुँदै आएको कार्यक्रम यो वर्ष भने केन्टमा हुन लागेको हो ।