लन्डन । चर्चित सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-५ को टोली बेलायत भ्रमण सकेर फर्किएको छ । अप्रिल पहिलो साता लन्डन आएको टोली आइतबार फर्किएको हो ।
कडा मन गर्दै बिदा भएको र भ्रमणका क्रममा बेलायतमा रहेका संगीतप्रेमी दर्शकको माया र प्रेमले आफूहरू नतमस्तक भएको भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले जनाए ।
‘सबै कार्यक्रम भव्यताका साथ सम्पन्न भयो र केही भने ऐतिहासिक र अविस्मरणीय नै रह्यो । दर्शक, आयोजक, प्रायोजक, प्रत्यक्ष या अप्रत्यक्ष रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
निर्माता नेपाल तथा सिजन ५ का विनोद राईसहित कलाकारहरू मकर योञ्जन, नोगेन लिम्बू, अजेश पौडेल, योगेश मगर, युविना हिराचन र मनोज गुरुङ टोलीमा सहभागी थिए ।
भ्रमण अवधिभर उनीहरूले बेलायतका आधा दर्जनभन्दा बढी शहरमा धमकेदार सांगीतिक प्रस्तुति दिएका थिए । बेलायतमा रहेका नेपाली समुदायलाई नचाएका थिए । टोलीले पहिलो शो वेम्बली लन्डनमा ६ अप्रिलमा दिएका थिए ।
यस्तै, अल्डरसटस्थित एम्पायर हलमा २० अप्रिल, २१ अप्रिलमा स्वीन्डन, २२ अप्रिलमा बर्मिङघम, २६ मा नुनेटन र २८ अप्रिलमा टीडवर्थमा सांगीतिक प्रस्तुति दिएका थिए ।
सुनगाभा इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको कार्यक्रममा टाइटल स्पोन्सर न्यु लक्ष्मी ज्वेलर्स युके र टाइटल को-स्पोन्सर मनि टु नेपाल थिए ।