लन्डन । यहीँ नोभेम्बर १२ तारिख शनिबारका दिन अल्डरसटमा हुने बृहत् साङ्गीतिक कन्सर्टका लागि चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन् ।
गायक राई बुधबार बेलुकी लन्डनको हिथ्रो विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा किरात राई यायोक्खा बेलायतका पदाधिकारी, सदस्य र शुभेच्छुक तथा सञ्चारकर्मीहरूले स्वागत गरे ।
राई किराया बेलायतको आयोजनामा हुने कन्सर्टमा भाग लिन आएका सहसंयोजक एवम् कलाकार गंगाराज राईले बताए । उनको स्वागतमा उनका अतिरिक्त किराया अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुमनचन्द्र राई, उपाध्यक्ष दिलकुमार राई, महासचिव चन्द्रावती राई, प्रमुख सल्लाहकार पदम राई, सल्लाहकार एवम् गायकका बुवा रत्न राईसहित यायोक्खाका पदाधिकारी सदस्यहरू, शुभेच्छुकहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । हल प्रवेशका लागि भने चार बजेबाट खुल्ला रहनेछ । अनुग्रह ज्वेलर्स र लेमन लिफ रेष्टुरेन्ट एन्ड बार मुख्य प्रायोजक रहेको कन्सर्टलाई दुई दर्जनभन्दा बढी प्रायोजकहरूले सहयोग गरेका छन् । गायक राईलाई साङ्गीतिक ब्यान्डले समेत साथ दिनेछ । जसमा लिड गिटारमा सरोज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पचे, ड्रममा प्रवेश गुरूङ र रिदममा विकल थापा रहेका छन् ।