लन्डन । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ चलचित्र ‘डिग्री माइला’ बेलायतका दुई वटा हलमा प्रदर्शन गरिएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर आइतबार प्लमस्टेड र अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन भएको हो । पहिलो प्रदर्शनमा दर्शकको उल्लेख्य उपस्थिति थियो ।
प्रिन्सेन हलमा भएको प्रदर्शनमा प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गहा मगर रहेका थिए । उनले शुभकामना मन्तव्य राखेपछि चलचित्र प्रदर्शन सुरु भएको थियो ।
यस्तै, अप्रिल २१ मा अक्सफोर्डमा र त्यसपछि अन्य शहरमा पनि चलचित्र प्रदर्शन गर्ने जनाइएको छ । केटूएस, जीनाइन इन्टरटेनमेन्ट र दास इन्टन्टरटेनमेन्टले संयुक्त रूपमा चलचित्र प्रदर्शन गरेका हुन् ।
नेपालमा अप्रिल १२ मा रिलिज भएको चलचित्र बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा शैक्षिक बेरोजगारीको कथा प्रस्तुत गरिएको छ ।
कलाकार दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीन पटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण भएको हो ।
चलचित्रमा दयाहाङ राई नै मुख्य भूमिकामा रहेका छन् । दयाहाङका साथै आँचल शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायत कलाकारको अभिनय रहेको छ ।