लन्डन । धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बालगृहको सहयोगार्थ गत शनिबार बेलायतमा रमाइलो सांगीतिक कार्यक्रम आयोजना गरिएको छ।
दि ट्रामसेड थियटर, वुलिचमा आयोजित 'आर्को मुखर्जी रिटर्नस' सांगीतिक साँझमा चर्चित भारतीय गायक आर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएका थिए । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित सांगीतिक साँझमा प्रतिभाशाली गायक गायक मुखर्जीले स्वर्गीय झलकमा गन्धर्व, स्वर्गीय लोक गायक बुद्धिकृष्ण लामिछाने लगायतका लोकप्रिय गीतहरु गाएर दर्शकहरुको मन जितेका थिए । उनले प्रसिद्ध नेवारी गीत 'राजमती कुमती जिके वासा पीरती' गाएर दर्शकहरुलाई काठमाडौँ उपत्यकामै भए जस्तो भान दिलाएका थिए। कार्यक्रममा उनलाई कनिष्क सरकारले साथ दिएका थिए ।
कार्यक्रमको सुरुमा आफ्टर म्याथ्स ब्याण्डका राज गुरुङले विभिन्न लोकप्रिय गीतहरु सुनेका थिए भने उनलाई रवि गुरुङ, युगजंग श्रेष्ठ तथा कमल कार्कीले साथ दिएका थिए । कार्यक्रमको संचालन हेल्प नेपाल नेटवर्क युकेका डा सुदर्शन गुरुङले रोचक ढंगबाट गरेका थिए ।
कार्यक्रमको खर्च काटेर बचेको सम्पूर्ण रकम धुलिखेलमा संचालन भइरहेको हेल्प नेपाल बाल गृहको सहयोगार्थ पठाइने संघ हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले बताए । सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् ।
'मातृभूमिका लागि महिनामा एक पाउण्ड' भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क स्थापना गरिएको थियो । नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-04-10/083954375435774243_1883941668704239_7402679423684466526_n.jpg)
![435774243_1883941668704239_7402679423684466526_n-1712738428.jpg](https://gurkhamedia.com/uploads/posts/435774243_1883941668704239_7402679423684466526_n-1712738428.jpg)