लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ सम्पन्न भएको छ ।
नेपालका ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेलाको उपस्थितिमा बेलायतमा पहिलो पटक गजलै गजलको साँझ भएको हो ।
आइतबार राति एम्पायर हलमा भएको कार्यक्रम सञ्चालन महासचिव कमल गुरुङ र सचिव युवराज गुरुङले गरेका थिए । प्रमुख अतिथि मेजर उदयबहादुर गुरुङ एमबीई, विशेष अतिथिमा युकेस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए । गजल साँझमा बुद्धिस्ट गुम्बा रेडिङका शुभचिन्तक तथा भक्तजनको उपस्थितिले हल खचाखच भरिएको थियो ।
४५ वटा टेबुल बुकिङ भएकामा अपुग भएपछि सहभागीले उभिएरै कार्यक्रमको मनोरञ्जन लिएका थिए । कलाकारले उनीहरूको रोजाइका गजलहरू प्रस्तुत गरे ।
साउन्ड सिस्टममा हेम बिस्ट रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि उदयबहादुर गुरुङ एमबीईले आफ्नो मन्तव्य पनि राखेका थिए । उपाध्यक्ष कृष्ण गुरुङले अतिथि तथा सहभागीलाई स्वागत गरे । अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ सबैलाई धन्यवाद ज्ञापन गरे । यस्तै, गुम्बामा प्रमुख गुरु खेन रिम्पोन्छे पाल्तेन गुरुङ १० मिनेट बुद्ध ज्ञानबारे प्रवचन दिएका थिए । प्रमुख अतिथि, अध्यक्ष र प्रमुख गुरुले संयुक्त रूपमा क्यान्डिल बालेका थिए ।
अथिति र हल व्यवस्थापन मेजर बुद्धिबहादुर गुरुङ, चन्द्रमान गुरुङले गरेका थिए । आमा समूहबाट उषाकुमारी गुरुङ, मिनाकुमारी गुरुङ र भीमकुमारी गुरुङले पनि सहयोगीका रूपमा खटिएका थिए । सचिव युवराजले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराए ।
आमा समूहको आकर्षणका रूपमा ३० जना आमाहरूले गुरुहरूसँगै बसेर च्योद मलम पाठ गरेका थिए । सयपत्री टिम, रेडिङ समाज र पानसको विमल गुरुङको टिमले नृत्यसमेत प्रस्तुत गरे । सो अवसरमा राफल ड्र पनि भएको थियो । राफल ड्रको लागि प्रथम पुरस्कार प्रायोजन लक्ष्मी ज्वेलरीले तथा दोस्रो पुरस्कार प्रायोजन डी लन्जले गरेका थिए ।
अन्त्यमा गजल गायन भएको थियो । गायकद्वय सिग्देल र पेलाले 'के लत बस्यो मलाइ', 'उ जितेर गई या हारेर गई'लगायत नेपाली र हिन्दी गजल प्रस्तुत गरे ।
यसैगरी, कार्यक्रममा १५ जना गुम्बाको आजीवन सदस्य बनेका थिए भने विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग गरेका थिए । कलाकारलाई गीत रिक्वेस्ट गरेर एक हजार ६०० पाउन्ड संकलन भएको थियो । गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरिएको हो । गजल साँझको परिकल्पना महासचिव कलम गुरुङले गरेका हुन् ।
गजल साँझका लागि टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको थियो । गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको थियो। त्यसबेला आनिछोइङ डोल्माले प्रस्तुति दिएकी थिइन् ।