काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको छानबिन समितिले ठहर गरेको छ ।
सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठित छानबिन समितिले निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको निष्कर्ष निकालेको हो ।
समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाएको छ । अनलाइनबाट गरिएको मतदानको वैधतामाथि प्रश्न उठेपछि गत माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले चौहानको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी उपरीक्षक र उपसचिव सदस्य थिए । समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन दिएको हो ।
एनआरएनएको नयाँ कार्यसमिति चयन गर्न कात्तिक ३ मा निर्वाचन भएको थियो । निर्वाचनमा काठमाडौँबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य देखियो । त्यसपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।
कात्तिक ४ गते मतदानमा बढी मत पाएका अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिले शपथ गराएको थियो । त्यसपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समानान्तर समिति बनाएका थिए ।
चौहानको समितिले निर्वाचनमा त्रुटि नै त्रुटि रहेको प्रतिवेदन बुझाएको हो । प्रतिनिधिको छनोटको सर्न्दभमा दुई वर्ष बसोबास गरेको हुनुपर्ने अनिवार्य सर्त पूरा नगरेका व्यक्तिसमेत प्रतिनिधिको नामावली स्वीकार गरी संलग्न गरेको भन्दै दाबीविरोधपश्चात नामावलीमा प्रतिनिधिको नाम थप गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
‘मतदाताहरूको अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघको आईटी टिममार्फत मतदातालाई उपलब्ध गराइएको,’ प्रतिवेदनमा भनिएको छ,‘सम्झौताबमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित भएको देखिएन ।’
छानबिन समितिले निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णय निर्वाचन भइरहेको सयमयमा गरिएको तथ्य फेला पारेको छ । ‘मतदाताको फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस (पहुँच) गैरआवासीय नेपाली संघको आईटी सपोर्ट टिमलाई उपलब्ध गराएको, फेसियल भेरिफिकेसन बाइपाससम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरी पुनः मतदान गराएको देखियो,’ प्रतिवेदनमा भनिएको छ ।
छानबिन समितिले नेपालबाट मतदान गर्ने गरी दर्ता भएका ९ जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरेको फेला पारेको छ । ५ जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको, निर्वाचन घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः विजयी भएको घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको प्रतिवेदनमा उल्लेख छ ।
११औँ महाधिवेशन हुनुअघि जापानलगायत केही देशमा एनसीसीले प्रतिनिधिको मनोनयन गर्दासमेत विवाद भई छानबिन भएको थियो । एनआरएनएमा पटक–पटक देखिएका विवादले संस्थाको आन्तरिक काम कारबाही सफल अभ्यासबाट अगाडि नबढेको देखिएकोसमेत छानबिन समितिको ठहर छ ।
समिति गठनअघि परराष्ट्र मन्त्रालयले संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेसहितका पूर्वअध्यक्षसँग छलफल गरेको थियो ।