काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’ निर्माण टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भटेको छ।
मंगलबार ओलीलाई भेटेर फागुन ९ गते हुन लागेको चलचित्रको भव्य रेड कार्पेटको प्रीमियरमा उपस्थितिका लागि अनुरोध गरिएको निर्माता सुमन राईले बताए। उनका अनुसार ओलीले उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।
मिलन चाम्स निर्देशित चलचित्रको पोखरा र धरानमासमेत भव्य प्रिमियर गरिने निर्माण टिमले जनाएको छ। युद्धको कथामा बनेको चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ।
रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ।
निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन छ। चलचित्रका निर्माता सुमन राई र सुस्मिता वाइबा हुन्।
यो सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म)मा प्रवेश पाउने पहिलो नेपाली चलचित्र हो।