लन्डन। ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बीजीडब्लूएस) का १६ जना सदस्यले फार्नबोरोस्थित गोर्खा भवन सरसफाइ गरेका छन् । लन्डनदेखि ६४ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित भवनको शनिबार सरसफाइ गरिएको हो । केही दिनयता बेलायतमा दिनहुँजसो परिरहेको पानी शनिबार रोकिएकाले सहज भएको सदस्य ओम थापाले बताए । फार्नबोरो नेपालीको बाक्लो जनघनत्व भएको शहरमध्येमा पर्छ । नेपालीले विदेशी भूमिमा मोर्गेज फ्री घर किनेको गोर्खा भवन नै पहिलो रहेको बताइएको छ । अहिले यसको मर्मत संम्भार भइरहेको छ। लन्डनको व्यस्त जीवनमा पनि शनिबारको बिदालाई सरसफाइमा लगाइएको महासचिव छत्र राईले बताए । सो क्रममा गोर्खा भवन वरिपरि सरसफाइ, भवनको गटर्स क्लियर गरिएको, ग्रेन्ज स्कुल जाने बाटोको रुखको हाँगा काटिएको, घरभित्र भएका नचाहिने समान फालिएको थियो। फ्रेस मेसिङ र ड्रिङ्स खाएर रमाइलो मनाएको थियो। यसैगरी, महिनाको एक दिन सरसफाइ, भेटघाट र मेसिङ कार्यक्रम गर्न उपस्थितले समितिलाई अनुरोधसमेत गरेका छन्। ऐन्डोबरबाट प्रेम बुढा र हन्स्लोबाट कृष्ण पुन पनि सरसफाइमा जोडिए । उपस्थित गोर्खा वेलफेयर प्रोपर्टी (जीडब्लूपीटी) का डाइरेक्टरले टाढाबाट सहभागी भएकोमा दुवैलाई धन्यवाद दिए । डाइरेक्टरले छुट्टीको दिन आएर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखे। सरसफाइ कार्यक्रममा प्रोपर्टी डाईरेक्टरहरू रामधन राई, छत्र राई, प्रकाश गुरुङ र अन्य सदस्यको उपस्थिति थियो। संस्थाका प्रवक्ता प्रकाश गुरुङका अनुसार गोर्खा भवन बीजीडब्लूएसका ५०० भन्दा बढी सदस्य मिलेर २००५ सालमा किनेको घर हो। संस्थाको कार्यालय त्यसयता उक्त घरबाट सञ्चालित छ। यो नेपालीको पृथक् र ऐतिहासिक घर हो । २००३ देखि गोर्खा आन्दोलन गर्दै बेलायतको हाईकोर्टमा पेन्सन मुद्दा पुर्याएर युरोपियन कोर्ट अफ ह्यूमन राईट्स, स्ट्रासबर्ग र फ्रान्ससम्म पुर्याएको कार्यालय यही थियो। गोर्खा भवनले धेरै महत्त्वपूर्ण विषय र व्यवसायको उठान गर्यो। गोर्खा सेक्युरिटी सर्भिसेस्, सीमा गोर्खा सेक्यूरिटी, गोर्खा रिसोर्सेस, युरोपको नेपाली पत्र, एभरेस्ट टाइम्स, रेडियो बीजीडब्लूएस, जीइर्जी आदिको सुरूआत पनि गोर्खा भवनबाट नै भएको प्रवक्ता गुरुङ बताउँछन्। गोर्खा भवनमा नेपाल र यूकेका प्रतिष्ठित व्यक्तिले भ्रमण गरेका छन्। एनआरएनएका पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछानेले भ्रमण गरेका छन् । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संविधानसभा अध्यक्ष स्व. सुवास नेम्बाङ, पूर्वसभामुख कृष्णबहादुर महरा, नेताहरू शशी श्रेष्ठ, पृथ्बीसुब्बा गुरुङ, गायिका आनीछोइङ डोल्माले भ्रमण गरेका छन्। यस्तै, बेलायतका मन्त्री किथ भ्याज, संसद्, रक्षा मन्त्रालयका उपल्लो दर्जाका कर्मकारी, भारतीय सेना ३ जीआरका पूजा चौधारीलगायत यहाँ पुगिसकेका छन्। जीडब्लूपीटीका सञ्चालकका अनुसार गोर्खा भवन पूर्ण रूपमा रिफर्बिस गरी भाडामा दिनका लागि तयार भएको छ। ९ वटा कोठा र मुख्य हल गरी १० कोठा छन्। हलमा ८० जना सम्मको पार्टी र मिटिङ गर्न सकिन्छ। २५-२२-१५ जना बसेर मिटिङ वा क्लासरुम गर्न सकिने ३ वटा कोठा छन्। रेडियोको दुई वटा रेकर्डिङ कोठा छन्। यो भाडामा घण्टाको हिसाबमा वा लामो समयका लागि बुक गर्न सकिन्छ। गोर्खा भवन जीडब्लूपीटीअन्तर्गत पर्छ। ले.रि मुक्तिजङ गुरुङ, टेकबहादुर थापा, अमृतकुमार गुरुङ, किशोर श्रेष्ठ, ह.ले युवराज राई, रामधन राई, छत्र राई र प्रकाश गुरुङ सञ्चालक छन्। मे.रि टिकेन्द्र दल देवान जेपी २००४ सालदेखि बीजीडब्लूएसको अध्यक्ष भई ब्रिटिस गोर्खाहरूको हक हितका लागि लडिरहेका छन्। ब्रिटिस गोर्खालाई बेलायत बस्न पाउने अधिकार दिलाएको संस्था नै बीजीडब्लूएस रहेको संस्थाका प्रवक्ता गुरुङले बताए।